वास्तविक सहिदको सम्मान गरौँ

सहिदहरू महान् हुन् । उनीहरूकै बलिदानबाट व्यवस्था परिवर्तन र स्वतन्त्रता प्राप्त भएको हो । वास्तवमा आफ्नो अमूल्य जीवन बलिदान दिएर ती वीर सहिदले राष्ट्रलाई ठूलो ऋण बोकाएका छन् । उनीहरूकै बलिदानका कारण दुर्भेध्य ठानिएका निरंकुश शासन सत्ता ढले र जनता नै शासक बन्ने परिपाटी बस्यो । तर, नेपाली सहिदलाई प्रत्येक वर्ष माघ १६ गते औपचारिकता पूरा गर्ने सिलसिलामा सम्झने गरियो, उनीहरूको देनबारे प्रकाश पार्ने काम भने गरिएन । जसले गर्दा सहिदहरूको बलिदानलाई महत्त्वहीन बनाइयो भने सहिद परिवारलाई पूरै बेवास्ता गरियो । जब राज्यले महान् सपुतहरूको योगदानको पूर्ण रूपमा कदर गर्न सक्दैन तब समाजले सम्मान गर्नुपर्ने व्यक्तिहरू निरास बन्छन् । यसले समाजमा निराशा ल्याउँछ र युवा वर्गको राष्ट्रप्रतिको कर्तव्यबोधलाई कमजोर बनाउँछ । यसर्थ, सहिदको उचित कदर गर्न र सहिद परिवारको सम्मान गर्न राज्यले कन्जुस्याइँ गर्नु हुँदैन । जुन मुलुकमा सहिदप्रति हृदयदेखि नै श्रद्धा व्यक्त गरिँदैन त्यस मुलुकमा सामाजिक सद्भावमा कमी आउँछ । राष्ट्रका आफ्नै भेषभूषा, भाषा, संस्कृति र परम्परा हुन्छन् । त्यस्तै निरंकुशताबाट जनतालाई मुक्त गर्न र स्वतन्त्रता उपभोग गर्न वीरहरूले बलिदान दिएका हुन्छन् । ती सहिदकै बलिदानका कारण ठुल्ठूला परिवर्तन भएका हुन् । तसर्थ, राज्यले सहिदलाई सम्झिने मात्र होइन उनीहरूको देनलाई जनस्तरसम्म पुर्‍याउने कार्य गर्नुपर्छ ।
१९९७ सालमा राणा शासनविरुद्ध लडेर शहादत प्राप्त गर्ने चार जना सहिदलाई माघ १६ गते सम्झने गरिएको छ । वास्तवमा उनै सहिदहरूका कारणले निरंकुश जहानियाँ राणा शासन ढलेको थियो । स्वतन्त्रता र प्रजातन्त्रका पक्षमा बोलेको र संगठित भएको आरोपमा उनीहरूलाई सहिद बनाइयो । तर, त्यसले राणा शासन भने समाप्त भयो । बलिदानका अगाडि निरंकुशता टिकेन । तर, अहिले सहिदको गरिमालाई होच्याउने र बलिदानलाई हल्का बनाउने कार्य हुँदै छ । सत्तामा पुग्नेहरूले सहिदको साधारण परिभाषालाई कुल्चने र जोसुकैलाई सहिद घोषणा गरिदिने परिपाटी बसाएका छन् । ट्रकले किचेर मरेको अमुक व्यक्तिलाई सहिद घोषणा गरिएको छ । भर्खरै शान्ति मन्त्रालयले गरेको छानबिनमा जिउँदा व्यक्तिहरूलाई सहिद घोषणा गरेको पाइएको छ । आफू सत्तामा गएपछि आफन्त जिउँदै भए पनि सहिद घोषणा गरेर १० लाख रुपियाँ प्राप्त गर्ने कलुषित सोचका कारण वास्तविक सहिदहरूको अपमान भएको छ । यस्तो परिपाटी राज्यले कायम नै राख्ने हो भने ‘सहिद’ शब्द नै हास्यास्पद बन्न सक्छ । तसर्थ, सम्बन्धित पक्षले सहिदलाई हल्का बनाउने काम गर्नु हुँदैन । गम्भीरता पूर्वक सोचेर मात्र सहिद घोषणा गर्नुपर्छ ।
नेपालमा अहिले जुनसुकै बेला जेसुकै कारणले मरेको व्यक्तिलाई भीडको दबाबमा आएर सहिद घोषणा गर्ने गरिएको छ । अझ राष्ट्र र जनताका पक्षमा लडेर शहादत प्राप्त गर्नेभन्दा पनि आफ्नो दलको कार्यकर्ता भएको आधारमा सत्तामा पुगेकाहरूले सहिद घोषणा गर्ने गरेका छन् । यो विडम्बनापूर्ण र हास्यास्पद कार्य गर्न नरोक्ने हो भने सहिदको परिभाषा बदलिन सक्छ । जनताले सहिदलाई कुन पार्टीको सहिद भनेर सोध्नु पर्ने दिन आउँछ । सहिदको गरिमालाई होच्याउँदै १० लाख रुपियाँ प्राप्त गर्नका लागि सहिद घोषणा गर्ने परिपाटी रोक्नुपर्छ । अर्कोतर्फ संसारमै नभएको थिति बसालेर नेपालमा सहिदको अपमान गर्ने काम हुँदै छ । ००७ साल पछिका सहिदलाई जनताले सहिद मान्न छाडेका छन् । वास्तवमा त्यसपछि पनि थुप्रै नेपाली सपुत सहिद भएका छन् । तर, वर्तमानको सहिद घोषणाले ती वास्तविक सहिदहरूलाई पनि ओझेलमा पारिदिएको छ । अहिले कांग्रेस, एमाले, एमाओवादी र अन्य विभिन्न दलका आ–आफ्नै सहिद छन् । मधेस, हिमाल र पहाडका क्षेत्रीय सहिद बेग्लै छन् । यिनै कारणले राष्ट्र र जनताकै लागि लडेर शहादत प्राप्त गरेका सहिद पनि राष्ट्रिय सहिद बन्न सकिरहेका छैनन् । सबै वास्तविक सहिदलाई सहिद मान्ने आधार खडा गर्नुपर्ने जरुरी भइसकेको छ । यसले मात्र सहिदप्रति सम्मान गरेको ठहरिनेछ । हाम्रो पनि ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया