सिरियामा भिडन्त जारी

बेरुत : सिरियाको राजधानी दमास्कसदेखि दक्षिण–पश्चिम भागमा पर्ने दाराया सहरमा सरकारी सैनिकले गोलीप्रहार र बमबारी जारी राखेको सिरियास्थित मानवअधिकारवादीले जनाएका छन् । माज्जेह सैनिक विमानस्थलबाट दारायामा भारी आक्रमण गरिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले पुष्टि गरेको छ । राष्ट्रपति बसर अल–असदका समर्थक करिब दुई महिनाभन्दा बढी सैनिकले दारायामा टयांकर र विमानमार्फत आक्रमण जारी राखेका छन् ।
दारायाको जारामानामा रातभर गरिएको आक्रमणमा परी नौ व्यक्ति घाइते भएका छन् । सिरियामा सन् २०११ को मार्च महिनादेखि सुरु भएको आन्दोलन र सशस्त्र विद्रोहका क्रममा ६० हजारभन्दा बढीको मृत्यु भइसकेको मानवअधिकारवादीहरूले हालै जनाएका छन् । उनीहरूका अनुसार आन्दोलनका क्रममा हजारौँ नागरिक घाइते भएका र अरू कयौँ बेपत्ता बनाइएका छन् ।
आन्दोलनका कारण लाखौँ सिरियाली नागरिकलाई मानवीय सहयताको आवश्यक पर्नुका साथै सिरियाको सीमापार गर्दै छिमेकी राष्ट्र लेबनान, जोर्डन, टर्की र इराकमा शरणार्थीका रूपमा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ । हाल सिरियामा विपक्षीसँग पनि हतियार रहेकाले गृहयुद्ध चलिरहेको बताइन्छ । केही समययतादेखि आन्दोलनरत विपक्षीहरूले पनि हतियारबाटै आक्रमण गर्ने गरेका पनि समाचारमा उल्लेख छ । आन्दोलनकारीले राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै आएका छन् । तर, राष्ट्रपति असदले राजीनामा नदिने अडान राखेकाले विपक्षीले पनि आन्दोलनलाई जारी नै राख्ने बताएका छन् । (एएफपी)

प्रतिक्रिया