एमाओवादी कार्यक्रममा पत्रकारलाई अवरोध

Routahatरौतहट, १४ माघ । एमाओवादी रौतहटको चौथौ जिल्ला सम्मेलन उद्घाटन कार्यक्रम यहाँका सञ्चारकर्मीले बहिष्कार गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेता सहभागी कार्यक्रम शनिबार समाचार संकलनमा अवरोध पुर्‍याएपछि पत्रकारले बहिष्कार गरेका हुन् । पार्टीको जिल्ला सम्मेलनका लागि शनिबार दिउँसो प्रधानमन्त्री डा. भट्टराईसहित एमाओवादी शीर्ष नेताहरू रौतहट सदरमुकाम गौर आएका थिए ।
पत्रकार महासंघ रौतहट शाखाले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाई कारबाही गर्नुको साटो सरकारले जोगाउन खोजेर दण्डहीनता बढाएको तथा सरकारकै कारण दैलेखका सञ्चारकर्मी विस्थापित भएकाले कार्यक्रम बहिष्कार गरिएको जनाएको छ । एमाओवादी अध्यक्ष दाहालले पार्टीको जिल्ला सम्मेलन उदघाटन गरेलगतै पत्रकारहरू कार्यक्रम बहिष्कार गरेको घोषणा गर्दै बाहिरिएका थिए । समाचार संकलनका लागी कार्यक्रमस्थल पुगेका पत्रकारलाई फोटो खिच्न पनि अवरोध पुर्‍याएपछि कार्यक्रम बहिष्कार गरिएको महासंघ शाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा समाचार संकलनमा एमाओवादी कार्यकर्ताले अवरोध पुर्‍याएका थिए ।
एमाओवादीको कार्यक्रम बहिष्कारलगतै पत्रकार महासंघको अगुवाइमा गौरमा विरोध जुलुससमेत निकालिएको थियो । दुई दर्जनभन्दा बढी सञ्चारकर्मी सहभागी जुलुसले पत्रकार हत्यामा संलग्नलाई कारबाही, दण्डहीनता अन्त्य तथा पत्रकारमाथिको दमन बन्द गर्नुपर्ने माग गरेको थियो । जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महासंघ शाखाका अध्यक्ष शैलेन्द्र गुप्ताले दैलेखबाट विस्थापित पत्रकारहरूलाई फर्किने वातावरण बनाउन र स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने पत्रकारको अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।
एमाओवादी नेताहरू चढेको हेलिकोप्टर देख्नासाथ विपक्षी दलका कार्यकर्ताले विरोधस्वरूप कालोझण्डा बेलुनमा बाँधेर आकाशमा उडाएका थिए । एमालेको जिल्ला कार्यालयको छतबाट समेत विपक्षीले कालोझन्डा देखाएर विरोध जनाएका थिए ।

प्रतिक्रिया