भारतलाई एकदिवसीय शृंखला

Dotiचण्डीगढ, ११ माघ । टेस्टमा बेहोरेको हारलाई बिर्संदै भारतले इंग्ल्यान्डविरुद्धको पाँच एकदिवसीय म्याचको शृंखला एक खेलअगावै जित्ने पक्का गरेको छ । बुधबार भएको चौथो खेलमा पाँच विकेटले विजयी हुँदै भारत शृंखलामा ३–१ ले अगाडि भएको हो । पहिलो खेल हारेको भारत त्यसपछिका लगातार तीन खेलमा विजयी भएको हो । यसअघि इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखला भने भारतले २–१ ले गुमाएको थियो ।

बुधबार भएको खेलमा भारतले प्राप्त २५८ रनको लक्ष्य ४७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । घरेलु टोलीको जितमा मध्यक्रमका सुरेश रैनाले नटआउट ८९ रन जोडे । त्यस्तै अजिन्क्या रहानेका ठाउँमा खेलाइएका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले ८३ रन बनाए । विराट कोहलीले २६ रन जोडे भने अलराउन्डर जडेजाले नटआउट २१ रन बनाए । पहिलो विकेटका लागि २० रनको साझेदारी गरेको भारतका लागि रोहित र कोहलीले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे भने रोहित र सुरेशबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी भयो । १९ रन जोडेका कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीसँग सुरेशले पाँचाँै विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । खेल सकिनअघि ७९ बलमा सुरेशले नौ चौका र एक छक्का प्रहार गरे भने रोहितले ९३ बल समावेश आफ्नो इनिङमा ११ चौका र एक छक्का प्रहार गरे ।
यसअघि टस हारी ब्याटिंगको निम्तो पाएको पाहुना टोली इंग्ल्यान्डले निर्धारित ५० ओभर खेल्दै २५७ रन जोड्यो । प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान एलिस्टर कुकसँगै केभिन पिटरसनले समान ७६ रन जोडे । त्यस्तै जोए रुटले ५७ रन जोडे । पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेको इंग्ल्यान्डका लागि कुक र पिटरसनले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । पिटरसन र रुटबीच छैटाँै विकेटका लागि ७८ रनको साझेदारी भएको थियो । बलिंगतर्फ भारतका स्पिनर रवीन्द्र जडेजाले तीन तथा अर्का स्पिनर रवीचन्द्रन आश्विन र इसान्त सर्माले समान दुई विकेट लिए ।
अस्ट्रेलिया –श्रीलंका शृंखला बराबर
पाचाँै तथा अन्तिम खेलमा विजयी हुँदै घरेलु टोली अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पाँच एकदिवसीय म्याचको शृंखला २–२ ले बराबरी गरेको छ । बुधबार भएको अन्तिम खेलमा अस्ट्रेलिया ३२ रनले विजयी भयो । २४८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८.३ ओभरमा २१५ रनमा सीमित भयो । बलिङतर्फ अस्ट्रेलियाका जेभियर डोहार्टी र मोइजेस हेनरिक्सले समान तीन विकेट लिए भने क्लिन्ट म्याकेय र मिचेल जोनसनले पनि दुई/दुई विकेट लिए ।
पाहुना टोलीको इनिङमा मध्यक्रमका एन्जेलो म्याथ्युजले सर्वाधिक ६७ रन जोडे । छैटौँ विकेटका लागि ७९ रनको साझेदारी गर्दै श्रीलंका ४३.५ ओभरमा १८७ रनमा पुगे पनि त्यसपछि श्रीलंकाको इनिङ पुन: धर्मराउन सुरु भएको थियो । यसअघि अस्ट्रेलियालाई मध्यम योगफलसम्म पुर्‍याउन फिलिप ह्युजले १३८ रनको योगदान गरे । त्यस्तै डेभिड हसीले ३४ र म्याथ्यु वेडले २७ रन जोडे । श्रीलंकाका नुवान कुलाशेखरा म्यान अफ दि सिरिज र अस्ट्रेलियाका ह्युज म्यान अफ दि म्याच भए । पहिलो खेल जितेको अस्ट्रेलिया चौथो खेल वर्षाका कारण रद्द हुनुअघि खेलिएका दुई खेलमा पराजित भएको थियो । एजेन्सी

प्रतिक्रिया