‘के छ डार्लिङ’को छायांकन धमाधम

film
धनकुटा : भीम लामाद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘के छ डार्लिङ’को छायांकन हाल पूर्वाञ्चलका विभिन्न ठाउँमा धमाधम भइरहेको छ ।
यसै क्रममा धनकुटाको भेडेटार तथा मूलघाटमा दुई दिन लगाएर चलचित्रको छायांकन गरिएको छ । आधुनिक प्रेमकथामा आधारित हुनुका साथै एचआइभी सम्बन्धमा सकारात्मक सन्देश प्रवाहित गर्ने कथा रहेको चलचित्र आइतबार र सोमबार गरी भेडेटार र मूलघाटमा दुवै दिन व्यस्त शैलीमा छायांकन गरिएको हो ।
आगामी वैशाखसम्ममा प्रदर्शन गर्ने लक्ष्य रहेको यस चलचित्रमा मुख्य कलाकारहरू सुमिना घिमिरे, प्रभाकर श्रेष्ठ, रितेश श्रेष्ठ, जे.एन.घिमिरे, सन्तोष न्यौपाने, बबि श्रेष्ठ, खड्ग श्रेष्ठ, कविता शर्मालगायत छन् । जम्मा तीनवटा गीत समावेश गरिएको चलचित्र ‘के छ डार्लिङ’ को धनकुटाको भेडेटार तथा मूलघाटका अलावा धरान, इटहरी र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिने निर्देशक भीम लामाले बताए ।
कृष्ण न्यौपाने मुख्य निर्माता रहेको यस चलचित्रका लागि संगीत भीम बस्नेतले दिएका छन् । भूषण श्रेष्ठ र भीम वस्नेतद्वारा रचना गरिएका तीन गीतमा दुर्गा खरेल, साजन राई, श्रेयसी चेम्जोङ, मदन चेम्जोङ र सुनिता सुब्बाले स्वर दिएका छन् ।
–देवकला कार्की

प्रतिक्रिया