३७ विदेशीको मृत्यु

अल्जियर्स : सहारा मरुभूमिको इन अमेनासमा रहेको ग्यास संयन्त्रमा बन्धक बनाएका ३७ विदेशी नागरिकको मृत्यु भएको अल्जेरियाली प्रधानमन्त्री अब्देल्मालेक सेलालले बताएका छन् । मृत्यु भएकाहरू विभिन्न आठ राष्ट्रका नागरिक रहेको जनाइएको छ ।
सुरुमा २३ विदेशी तथा अल्जेरियाली नागरिकको मृत्यु भएको पुष्टि भएको थियो । घटनामा परी पाँच विदेशी अझै बेपत्ता रहेको प्रधानमन्त्री सेलालले जानकारी दिएका छन् ।
छिमेकी राष्ट्र मालीमा फ्रान्सले आफ्ना नागरिकको बचाउका लागि गरेको सैनिक कारबाहीको विरोधमा अलकायदा समर्थक विद्रोहीले अमेरिकालगायत पश्चिमा मुलुकका नागरिकको कार्यरतापूर्ण हत्या गरेको प्रधानमन्त्री सेलालले बताए । घटनामा ३२ अपहरणकारीको मृत्यु भएको, ६ सय ८५ अल्जेरियाली तथा एक सय सात विदेशी बन्धकलाई मुक्त गरिएको अल्जेरियाको गृहमन्त्रालयले जनाएको छ ।
अल्जेरियाली सञ्चारमन्त्री मोहमदले मृतकको संख्या बढ्नसक्ने आशंका व्यक्त गरेका छन् । फ्रान्सेली विदेशमन्त्री जाँ इभ्स ल ड्रियाँले यस घटनालाई युद्धको संज्ञा दिएका छन् । (एएफपी)

प्रतिक्रिया