बेहोस बनाएर सामूहिक बलात्कार

बाठिन्डा : बलात्कारका बर्बर प्रकरण घट्ने क्रम भारतमा अझै रोकिएको छैन । भारतको राजधानी नयाँदिल्लीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको र गोवामा सात वर्षीया बालिकामाथि विद्यालयकै शौचालयभित्र बलात्कार भएको प्रकरण सेलाउन नपाउँदै भारतको चण्डीगढमा आङ सिरिंग पार्ने बलात्कारको अर्को घटना घटेको छ ।
जागिरका लागि अन्तर्वार्ता दिन चण्डीगढ आएकी २६ वर्षीया एक नर्समाथि सामूहिक बलात्कार भएको हो । अपहरणपश्चात् उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । भारतको मोगा जिल्लानिवासी ती नर्सले पढाइ सिध्याएकी थिइन् । पढाइ सिध्याएर जागिरका लागि अन्तर्वार्ता दिन ठिक्क परेकी उनीमाथि सामूहिक बलात्कार भएको घटनाले धेरैलाई स्तब्ध बनाएको छ ।
अपहरणमा परेको दुई दिनपछि आइतबार उनलाई फेला पारिएको थियो । बलात्कार गरेपछि बलात्कारकीको समूहले उनलाई बाठिन्डा–दाबावली सडकमा कारबाट बाहिर हुत्याइदिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरका छन् । पीडित नर्सले सन् २००७ मा भारतको माता साबिह कौर कलेजबाट नर्सिङ पढाइ सिध्याएको र हाल उनको बाठिन्डा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार चण्डीगढको सेक्टर ३४ अस्पतालमा जागिरको आवेदन खुलेको जानकारी साथीबाट पाएपछि उनले आवेदन दिएकी छन् । अन्तर्वार्ताका लागि शुक्रबार बिहान चण्डीगढ जान बस समातेकी उनी चण्डीगढमा उत्रिएकी मात्रै के थिइन्, एक अपरिचित पुरुष ठेगाना सोध्दै उनीसामु आइपुगे । जवाफ दिन नपाउँदै हुल्याहाको एक हुल उनलाई कारभित्र कोचेर हुइँकियो । कारभित्र सुई लगाएर उनलाई बेहोस बनाएर पालैपालो बलात्कार गरिएको प्रहरीको भनाइ छ ।
होस आउँदा उनले आफूलाई चार पुरुषसामु बन्द कोठाभित्र नांगै पाइन् । तीमध्ये एक व्यक्ति कोठाभित्रको ‘सिन’ क्यामेरामा कैद गर्न तल्लीन थिए । यो सब देखेर चिच्याउन खोज्दा अर्को डोज सुई लगाएर उनलाई पुन: बेहोस पारिएको जानकारी प्रहरीले दिएको छ । बलात्कारीहरूले उनलाई आइतबार अर्धबेहोसी अवस्थामा पुन: कारमा राखी एकान्तमा लगेर बाहिर हुत्याइदिएका थिए । (एजेन्सी)

प्रतिक्रिया