सिरियामा बलात्कार र युद्धअपराध बढ्दो

दमास्कस : सिरियामा पछिल्लो समयमा बढ्दै गएको युद्धअपराधका घटनाले सम्पूर्ण विश्वलाई चिन्तित बनाएको छ । सिरियामा जारी आन्दोलनमा त्यहाँको सरकारी सेनाले महिला तथा बालबालिका तारो बनाउन थालेका छन् । महिला तथा बालबालिकालाई दिइएका यातना र यौन शोषणका समाचारले विश्वलाई थप चिन्तित बनाएको छ ।
गत मंगलबार सिरियाको राजधानी दमासकसनजिकको एक दंगाग्रस्त नगरमा सरकारी सेनाले हेलिकोप्टरबाट आक्रमण गर्‍यो । आक्रमणमा परी कम्तीमा ३० बालबालिकाको मृत्यु भयो । मानवअधिकारवादीहरूको कडा विरोधपछि सरकारी सेनाले त्यसको दोष विपक्षी आन्दोलनकारीमाथि लगायो । सिरियाली आन्दोलनको प्रत्यक्ष अनुगमन गरिरहेको बेलायती संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो आक्रमण सरकारी सेनाले गरेको दाबी गरेको छ ।
संस्थाले भनेको छ, ‘यस्ता आक्रमणका कैयौँ घटना सिरियामा भएका छन् । यसबाट अहिलेसम्म कम्तीमा पनि तीन हजार ६०० बालबालिकाको ज्यान गइसकेको छ । यस्ता आक्रमणमा परी अन्य कैयौँ बालबालिका हराइरहेका छन् । यौन दुव्र्यवहार गरेर हत्या गरिएका एवं उनीहरूलाई नाजायज काममा लगाइएका घटना पनि छन् । तर, सरकारले निष्पक्ष र स्वतन्त्र रूपमा घटनाबारे अनुगमन गर्नै दिएको छैन ।’
केही समयअघि सिरियाली सरकारले जेलमा राखेर यातना दिइएका बालबालिकाको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा सुरक्षाकर्मीले बालबालिकालाई यौनसम्बन्धी आपत्तिजनक काम गर्न लगाएको, एक बालकलाई अर्काेलाई मार्न लगाएको, सम्वेदनशील अंगमा घोचेर दु:ख दिएको र कैयौँ छाक खान नदिएको जस्ता घटना देखिएका थिए ।
विद्रोहीले पनि विगत केही महिनादेखि हतियारले प्रतिवाद गर्न थालेपछि यसको चेपुवामा बालबालिका तथा महिला परेका छन् । महिला तथा बालबालिकामाथि भएका एकाध हिंसामा विद्रोहीको संलग्नता देखिएकाले त्यस्ता घटनाका लागि विद्रोहीहरूलाई दोषी देखाउन सरकारलाई सजिलो भएको छ ।
सिरियामा महिलाहरू दिनदहाडै बलात्कृत भइरहेका छन् । अहिले सिरियाली आन्दोलनमा बलात्कार सबैभन्दा क्रूर हतियार भएको र यसैका कारण ठूलो संख्यामा महिला तथा बालबालिका पलायन भइरहेको पाइएको छ । बलात्कारमा पर्ने डरले उनीहरू जोर्डन तथा लेबनानमा शरण लिन बाध्य भएको जानकारी अमेरिकामा केन्द्रीय कार्यालय रहेको इन्टरनेसनल रेस्क्यु कमिटीले सोमबार दिएको छ । बलात्कारपीडित महिलालाई स्वास्थ्य र परामर्शको अभाव रहेको र उनीहरू शरणार्थी शिविरमा समेत असुरक्षित जीवन बिताउन बाध्य भएको पाइएको छ । उनीहरूले स्वास्थ्य सुविधा त के आवश्यक खाद्यान्न पनि पाएका छैनन् ।
राष्ट्र संघले सिरियाका छिमेकी राष्ट्रहरूमा शरण लिने सिरियाली नागरिकको संख्या जुन महिनासम्म ११ लाख पुग्ने अनुमान गरेको छ । सिरियाभित्रै करिब २० लाख जनता विस्थापित भएका छन् । संयुक्त राष्ट्र संघले ४० लाख जनतालाई तत्कालै सहायता आवश्यक भएको उल्लेख गरेको छ । देशभित्रै विस्थापित भएका महिला र बालबालिका अझ बढी पीडित छन् ।
विगत २२ महिनादेखि जारी रहेको हिंसात्मक आन्दोलनमा युद्ध–अपराध भएको भन्दै त्यसको छानबीनका लागि विश्व समुदायले आग्रह गरेका छन् । सिरियालाई घातक हतियारको प्रयोग नगर्न विश्वव्यापी रूपमा नै चेतावनी दिइएको भए पनि त्यहाँ यस्ता हतियारको प्रयोग भइरहेको बताइन्छ । सिरियामा २०११ को मार्चदेखि सुरु भएको आन्दोलनका क्रममा ६० हजारभन्दा बढी को मृत्यु भइसकेको छ । हाल सिरियामा विपक्षीसँग पनि हतियार छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया