जापानी प्रधानमन्त्री भियतनाममा

हनोई : जापानी प्रधानमन्त्री सिन्जो अबे बुधबार भियतनाम पुगेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले भियतनामबाट विदेश भ्रमण आरम्भ गरेका हुन् । आफ्नो कार्यकालमा मुलुकलाई आर्थिक समृद्धि दिलाउने र यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष पहल गर्ने नारा अघि सारी उनले निर्वाचनमा भाग लिएका थिए ।
चुनावताकाको प्रतिबद्धता पूरा गर्ने उद्देश्य बोकेर उनले बुधबारदेखि भियतनाम भ्रमण आरम्भ गरेका हुन् । उनले भियतनाममा २४ घन्टात्र बिताउने बताइएको छ । यसपछि उनी थाइल्यान्ड जाने कार्यक्रम रहेको बताइएको छ । बुधबारै उनले भियतनामी प्रधानमन्त्री एनगुयन तान डङसँग औपचारिक भेट गरेको समाचारमा उल्लेख छ ।
कम्युनिस्ट देश भियतनाममा जापानले गत वर्ष सबैभन्दा बढी लगानी गरेको थियो । भियतनामको बैंकिङका साथै अन्य आर्थिक तथा पूर्वाधार निर्माण क्षेत्रमा जापानको ठूलो लगानी छ । गत महिना प्रधानमन्त्रीमा नियुक्त भएका अबेले जापानमा आर्थिक विकासको एजेन्डालाई अघि सारेका छन् । सन् २०११ मा जापानमा गएको महाभूकम्प र सुनामीपछि भत्किएका संरचना पुनर्निर्माणका लागि रकम खर्चिनुपर्दा आर्थिक रूपमा जापान खस्किएको छ । (एएफपी)

प्रतिक्रिया