“म्याद थप गर्नुस् भनेनौँ”

शीतलनिवासबाट बाहिरिँदै गर्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चाँडै सहमतिमा पुग्ने प्रतिक्रिया दिए पनि राष्ट्रपतिसमक्ष थप समय भने नमागिएको बताए । राष्ट्रपतिले पटक–पटक म्याद थप गर्दा गलत सन्देश जाने उल्लेख गर्दै दाहालले राष्ट्रपतिले चाँडै सहमतिमा पुग्न आग्रह गरेको जानकारी दिए ।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भने सहमतिको प्रयास जारी रहेकाले पुस मसान्तसम्मको समय मागिएको बताए । एमाले अध्यक्ष झलनाथ खनालले पुस मसान्तसम्म दलीय सहमति जुटाई निकास निकाल्न अधिकतम कसरत गरिने बताए । दक्षिणायन सकिएर उत्तरायण लाग्नुअघि नै दलीय सहमति जुट्ने भन्दै खनालको भनाइ थियो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै सहमति बन्ने/नबन्ने प्रचण्डमा भर पर्ने बताए ।
राष्ट्रपतिलाई भेट्न दाहाल, नेपाल, खनाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार शीतलनिवास पुगेका थिए । कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री उम्मेदवार प्रस्ताव गरिए पनि मुख्य सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया