काठमाडौं, २६ पुस । अस्थिर प्रदर्शन गर्ने गरेका नेपाली राष्ट्रिय च्याम्पियन मनीष हमाल ११आँै पाश्र्वनाथ दिल्ली ओपन चेस प्रतियोगिता आधा हुँदासम्म सानदार प्रदर्शन गर्न सफल भएका छन् । नेपाली खेलाडीले अन्य प्रतियोगितामा भन्दा राम्रो प्रदर्शन गर्ने गरेको पाश्र्वनाथ आधासम्म पुग्दा मनीषको प्रदर्शन स्तरीय रहेको छ ।
चार वर्षअघि यसै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कृष्ण थापा पनि त्यति कमजोर स्थितिमा छैनन् । नेपाली खेलाडीका माझ कुनै पनि समय कम ब्याक गर्ने बानी परेका शूरवीर लामा यी दुईभन्दा कमजोर देखिए । तथापि, उनीबाट अझै कमब्याकको अपेक्षा गरिएको छ । प्रतियोगितामा सुजेन्द्र श्रेष्ठको प्रदर्शन सामान्य रहेको छ भने वसन्त रावलले पनि पाँचौँँ चरणमा जित हात पारेका छन् । प्रतियोगितामा राम्रो खेलेर पनि अनावश्यक गल्ती गर्ने गरेका एभरेस्ट चेस क्लबका युवा खेलाडी सुशील चौधरीको हकमा भने परिणाम राम्रो रहन सकेको छैन ।
‘सुशील प्रतिभाशाली खेलाडी भए पनि म्याच एक्सपिरेन्सको अभाव रहेको छ ।’ सुशीलको खेल हेरेका शूरवीरले भने । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका मनीषले पाँचौँ चरणमा आइएम निशा मोहतालाई पराजित गर्नुअघि चौथो चरणमा नसिर बजिहलाई हराएका थिए । यसअघि उनले दुई खेलमा आफूभन्दा धेरै माथिल्लो वरीयताका खेलाडीसँग नै बराबरी गरेका थिए । राष्ट्रिय च्याम्पियन हुनेबित्तिकै फर्म गुमाएका मनीषले पछिल्ला केही महिनादेखि आफ्नो खेल सुधारिएको भए पनि त्यसअनुसारको नतिजा नआइरहेको गुनासो गर्ने गरेका थिए । मोहतासँगको खेलमा कालो गोटी लिएका मनीषले खेलको बीचमै एउटा उँट फाइदा लिएका थिए ।
‘मनीषको सफलतापछि सिंगो टोलीमा नै उत्साह थपिएको छ,’ प्रतियोगितामा सहभागी वसन्त रावलले भने । त्यसो त निर्धारितभन्दा खेलको तालिका अत्यधिक ढिला भएका कारण लामो यात्राका बाबजुद शूरवीर र मनीषले दोस्रो चरणको खेलमा बराबरी गरेपछि यसले धेरैलाई आश्चर्यमा पारेको थियो । दोस्रो चरणमा पनि दुवै खेलाडी मुस्किलले वाकओभर दिनबाट बचेका थिए ।
त्यसो त नेपाली खेलाडीको यो वर्ष अन्तर्राष्ट्रिय मास्टरसँगको प्रदर्शन राम्रो रहेको छ । रामप्रसाद स्मृति चेस प्रतियोगितामा नीरज निरौलापछि कोलकातामा भएको रोज भ्याली चेस प्रतियोगितामा मदनकृष्ण कायस्थले ३७ रेटिङ बढाएका थिए । यो क्रम बढ्दै गएर आसन्न चेन्नई ओपनसम्म पनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । पाश्र्वनाथको सुरुको पाँच चरणसम्म मनीषले ३१ रेटिङ बढाएका छन् । ‘मनीषको समस्या भनेकै अस्थिरता हो । यदि, यो समस्याबाट मुक्त भए उसले साँच्चै राम्रो गर्ने आशा छ,’ नेपाली चेसलाई नजिकबाट हेर्नेहरू बताउँछन् । वसन्त रावलले भने पहिलो जित हात पार्ने क्रममा पाँचौँ चरणमा अतुल दाहाललाई पराजित गरेका थिए ।
प्रतिक्रिया