काठमाडौं : गत संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा १८ टिम थिए र दर्शकका लागि टिकट बिक्री (गेट फी) बापत आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले करिब २७ लाख रुपियाँ उठाएको थियो । जारी संस्करणमा १६ टिम सहभागी छन् तर नवौँ चरणका खेल सकिँदा
(हाल एघारौँ चरण भइरहेको छ) नै एन्फाले ‘गेट फी’बापत गत संस्करण बराबर रकम कमाइ गरिसकेको छ ।
नवौँ चरणको समाप्तिमा क्लबले टिकटबाट उठेको रकमबाट १८ लाख पाँच हजार एक सय रुपियाँ लिएको एन्फाले जनाएको छ । यो रकममध्ये १० प्रतिशत खेलाडी कल्याणकारी कोष र सात प्रतिशत टिकट कमिसनका रूपमा कटाइन्छ भने प्राविधिक खर्च कटाएर बाँकी रहने रकमको ८० प्रतिशत पैसा सहभागी क्लबलाई वितरण गर्ने गरिन्छ । नवौँ चरणसम्म सबैभन्दा बढी रकम मनाङ–मस्याङ्दीले २ लाख ३१ हजार २ सय ५० रुपियाँ र पहिलोपटक ‘ए’ डिभिजन खेलिरहेको मध्यपुर युथ एसोसिएसनले दोस्रो सर्वाधिक ‘गेट फी’ पाउने टोलीको रूपमा १ लाख ९६ हजार ७ सय रुपियाँ पाएको छ भने सबैभन्दा कम रकम सरस्वतीले करिब २२ हजार रुपियाँ पाएको एन्फाका लेखा अधिकृत मोतीलाल श्रेष्ठले जानकारी दिए । दैनिक प्राप्त हुने ‘गेट फी’बाट सोही दिन नै खेल्ने सबै चार क्लबलाई उक्त रकम बराबर प्रदान गरिन्छ । रंगशालामा टिकट नकिनी फुटबल हेर्नेको संख्या पनि बाक्लै हुने गर्छ ।
एन्फाले यसपटक ‘सिंगल लिग’ र सुपर एटपछि मात्र लिग विजेताको निर्णय हुने जनाएको छ । यस अर्थमा यसपटक गेट फिबाट गत वर्षको भन्दा दोब्बर आम्दानी हुनसक्ने अनुमान छ । नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन सुस्ताएको समयमा घरेलु फुटबलमा किन दर्शक बढे ? घरेलु फुटबलको स्तर बढेर अथवा समय बिताउन मात्र दर्शक रंगशाला आए ? सायद यो यतिबेला बहसको विषय बनेको छ । सिंगल लिगमा अब पाँच चरणको मात्र खेल बाँकी छँदा उपाधि होड पाँचभन्दा बढी टोलीबीच खुल्ला रहेको छ भने रेलिगेसनबाट बँच्न संघर्ष गर्ने टोली पनि धेरै देखिएका छन् ।
आकर्षक पुरस्कार र क्लबको लगानी
एन्फाले सहिद स्मारक ए डिभिजन लिगको विजेतालाई यसपटक ७५ लाख रुपियाँ प्रदान गर्नेछ । यसै कारण क्लबले खेलाडीलगायत प्रमुख क्षेत्रमा लगानी पनि बढाएका छन् । क्लबहरूले अधिकतम संख्यामा विदेशी खेलाडी भित्र्याएका छन् । यस्तै, क्लबले राम्रा–राम्रा प्रायोजक पाएका छन् जसले व्यवस्थापनमा उनीहरूलाई सहज बनाएको छ । ‘पहिला–पहिला लिगमा टिक्नका लागि मात्र क्लबले लगानी गर्थे । तर, अहिले खेलाडीको पारिश्रमिक वृद्धिसँगै प्रतियोगिताको पुरस्कार राशि पनि आकर्षक ढंगले बढेकाले क्लबको सोच्ने तह बढेको छ । अहिले हरेक क्लब सकेसम्म उपाधिका लागि नै खेल्छन्’ फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन् । क्लब लगानीका कारण खेलाडीको मनोबल पनि बढेको उनको मत छ ।
विदेशी खेलाडीको भारी उपस्थिति
नेपाली फुटबलको इतिहासमा अहिले सबैभन्दा बढी संख्यामा विदेशी खेलाडी लिगमा खेलिरहेका छन्, जसमा अधिकांश अफ्रिकन छन् । विभागीय तीन क्लब र बौद्ध क्लबसँग मात्र विदेशी खेलाडी छैनन् । मनाङ मस्र्याङ्दीदेखि बाँसबारीसम्मका क्लबले एउटा खेलमा अत्यधिक खेलाउन पाउने चार खेलाडीको कोटा पूरा गर्ने गरेका छन् भने प्रावधानबमोजिम उनीहरू अधिकतम पाँच विदेशी खेलाडीको कोटा पनि पूरा गरेका छन् ।
फ्रेन्ड्स, जावलाखेल, मनाङ, संकटालगायतका क्लबमा विदेशी गोलकिपर छन् । प्रशिक्षक ध्रुव केसी विदेशी खेलाडीका कारण अहिलेको नेपाली लिग प्रतिस्पर्धात्मक र स्तरीय बनिरहेको बताउँछन् । ‘विदेशी फिजिकल्ली मात्र होइन, टेक्निकल्ली पनि नेपाली खेलाडीभन्दा माथि छन् ।’ हाल सरस्वती क्लबका प्रशिक्षक रहेका केसीको भनाइ मान्ने हो भने विदेशी खेलाडीका कारण साना क्लबको पनि चुनौती बलियो भएको छ । ‘पुरस्कार राशि बढेसँगै क्लबको लगानी बढेको छ । विदेशीकै भरमा क्लबको प्रदर्शन स्तरीय बनेको छ,’ केसी भन्छन् ।
चारजना विदेशीका कारण किन क्लबको प्रदर्शन सुधारियो भन्ने प्रश्नमा मिश्र भन्छन्, ‘फुटबल भनेको टेक्निक र फिजिकल दुइटै हो । धेरै ठाउँमा फिजिकल र धेरै ठाउँमा टेक्निकले काम गर्छ । यी दुवै भयो भने प्रदर्शन उत्तम हुने सम्भावना धेरै हुन्छ ।’
युवा खेलाडी र राम्रा खेलाडीको विभाजन
पूर्वराष्ट्रिय स्ट्राइकर खड्काको भनाइ मान्ने हो भने मोर्डन फुटबलमा युवा खेलाडी हावी हुन्छन् र यसैले खेलको गति तीव्र हुन्छ । क्लबमा युवा खेलाडीको बढी उपस्थितिका कारण खेलको पेस बढेको छ । ‘पहिला राम्रा खेलाडी एउटै क्लबमा आबद्ध हुन्थे । मध्यम खेलाडीले बेन्चमा बिताउनुपथ्र्यो,’ केसी भन्छन्, ‘अहिले ती खेलाडी विभिन्न क्लबमा बाँडिएका छन् । राम्रा, मध्यम र सामान्य खेलाडी एउटै टिमका रूपमा मैदानमा उत्रँदा उनीहरूको खेल राम्रो हुने गरेको छ । यसमा विदेशी खेलाडीले राम्रोसँग मध्यस्थता गरेका छन् ।’
जाडो सिजन र लोकल क्लबको प्रदर्शन
विगतमा असार साउनमा लिग सञ्चालन हुन्थ्यो । पानीमा भिजेर फुटबल हेर्न गाह्रो हुन्थ्यो । तर, अहिलेको लिग जाडो याममा सञ्चालन भइरहेको छ जसले घाम तापेर फुटबल हेर्ने अवसर मिलेको छ । एन्फाका विकास निर्देशकसमेत रहेका मिश्र भन्छन्, ‘दर्शक अनुकूल समयमा फुटबल भइरहेको छ । अन्य कारण त छँदै छन् तर यस समयमा फुटबल हुनुलाई पनि कम कारण आक्नु हुन्न ।’ स्थानीयता–आधारित (लोकली बेस्ड) क्लबले राम्रो प्रदर्शन गरेका कारण पनि दर्शकको संख्या बढेकोमा जानिफकार एकमत छन् ।
निष्कर्ष
क्लबलाई मैदान अभाव, क्लबले समयमा पैसा नदिने, खेलाडीलाई झुल्याइरहने अनि समयमा पारिश्रमिक नदिएको निहुँमा खेलाडी नियमित प्रशिक्षणमा नआइदिने, खेलमा समेत आफू स्तरको प्रदर्शन नगर्ने विषय पनि अद्यापि नेपाली फुटबलमा समस्याकै रूपमा रहेका छन् । यसमा पनि क्लबले पारिश्रमिक बढाउने आँट गर्नु भने अवश्य पनि व्यावसायिक विकासमा एउटा खुड्किलोका रूपमा भने रहेको छ ।
व्यावसायिकताका बीच खेलाडीले आफ्नो प्रदर्शनलाई सुधार नगर्नु, विदेशी खेलाडीको छायामा स्वदेशी खेलाडी पर्नुलगायतको स्थिति भने नेपालको अन्तर्राष्ट्रिय फुटबलमा विचारणीय विषय छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षकसमेत रहेका केसीको भनाइ सापटी लिने हो भने हरेक पोजिसनमा विदेशी खेलाडी अब्बल देखिएर नेपाली खेलाडी ओझेलमा पर्नु अन्तर्राष्ट्रिय फुटबलमा राम्रो हुँदैन ।
प्रतिक्रिया