काठमाडौं : पोल्यान्डका ज्याक स्टेफानोस्की नेपालको राष्ट्रिय फुटबल टोलीका नयाँ प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघका प्रवक्ता ललितकृष्ण श्रेष्ठका अनुसार, आफ्ना सहयोगीका साथ सोमबार साँझ काठमाडौं आइसकेका ज्याकको पदावधि एक वर्षको हुनेछ । उनी आठ हजार डलर मासिक पारिश्रमिकमा नेपाल आएका हुन् । यसअघि सन् २०१० मा पोर्तोरिकोको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका ज्याकको मासिक तलबमध्ये चार हजार डलर प्लान वान नामक संस्थाले दिनेछ ।
विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै ज्याकले नेपाली खेलाडीको फुटेज हेरेर अध्ययन गरिरहेको बताउँदै आफ्नो पहिलो प्राथमिकता एएफसी च्यालेन्ज कपको छनोट चरण रहने विचार व्यक्त गरे । स्मरणीय छ, बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्स स्वदेश फर्केपछि उनको स्थानमा कृष्ण थापा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । (सौस)
प्रतिक्रिया