चीनमा चिसो

सांघाई : चीनको तापक्रम तीन दशककै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । अधिक चिसोका कारण चीनका तटीय क्षेत्र बरफमय बनेका छन् । अघिल्लो सप्ताहन्तमा मात्रै बरफमा अड्किएर करिब चीनका हजार पानीजहाज अलपत्र परेका छन् ।
नोभेम्बर अन्त्ययता चीनको औसत तापक्रम माइनस तीन दशमलव ८ डिग्री सेल्सियलस छ । यो अघिल्लो वर्षको सोही अवधिभन्दा माइनस एक दशमलव तीन डिग्री सेल्सियस कम हो । चीनको मौसमविज्ञान प्रशासनका अनुसार यो गत २८ वर्षयताकै सबैभन्दा न्यून औसत तापक्रम हो ।
चीसोका कारण चीनको सानडोङ प्रान्तसँग जोडिएको लाइझाउ समुद्रका तटीय क्षेत्र बरफमय बनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार बरफमा अड्किएर करिब हजार पानीजहाज अलपत्र परेका छन् । सो इलाकाको दुई सय ९१ वर्गकिलोमिटर समुद्री क्षेत्र बरफमय बनेको छ ।
अधिक जाडोका कारण चीनमा यातायातका साधनसमेत प्रभावित भएका छन् । चीनको हुनान प्रान्तको मुख्य विमानस्थलबाट हुने एक सय ४० भन्दा बढी उडान ‘डिले’ भएको छ । त्यसैगरी, बेइजिङ–हङकङ–मकाउ रेलसेवा पनि अवरुद्ध भएको चाइना डेलीले जनाएको छ ।
उत्तर–पूर्वी चीनको तापक्रम ४३ वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । सो क्षेत्रको औसत तापक्रम माइनस १५ दशमलव ३० डिग्री सेल्सियस रहेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया