कांग्रेस र एमालेका नेताहरु बीच बार्ता

काठमाडौं, २० पुस । कांग्रेस र एमालेका प्रमुख नेताहरु बीच सहमतीय सरकार र मुलुकको पछिल्लो राजनीतिक विषयमा परामर्श भएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज भएको भेटबार्तामा कांग्रेस नेतृत्वमा बनाउने भनिएको सहमतीय सरकार र नयाँ निर्वाचनका बारेमा छलफल भएको नेताहरुले बताएका छन् । एमाओवादी विभिन्न बहानामा बार्तालाई लम्वाएर सत्ता लम्बाउने षड्यन्त्रमा लागेको आरोप लगाएका उनीहरुले यस्तै अवस्था रहे बैशाखमा पनि निर्वाचन हुन नसक्ने जनाए ।
भेट पछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता केपी ओलीले मुलुकको पछिल्लो राजनीतिक गतिरोध अन्त्यका विषयमा कुराकानी भएको बताए । उनले भने, ‘सहमतीय सरकार र गतिरोध अन्त्यका बारेमा छलफल भएको हो ।’
कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पनि मुलुकलाई राजनीतिक निकास दिने विषयमा कुराकानी भएको जानकारी दिए । ‘प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिका लागि पद त्याग्छु भनिरहने तर बाधक बन्ने काम भएको छ,’ उनले भने, ‘अब सहमतिका लागि निर्णायक कदम चाल्न दलहरु डराउनु हुँदैन ।’
उनले राजनीतिक दलको नेतृत्वमा गठन हुने सरकारले चुनाव गर्न सक्दैन भन्नु हास्यास्पद तर्क रहेको बताए । ‘स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने एमाओवादीको प्रस्ताव उपयुक्त छैन,’ सिटौलाले भने ।
भेटबार्तामा कांग्रेस सभापति कोइराला, महामन्त्री सिटौला, एमाले नेता ओली, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया