हिरो बन्ने रहर थियो सकिएन

नेपाली चलचित्रले अहिले निकै फड्को मारेको छ । केही वर्षयता देशमा भएका धेरै उपलब्धिमध्ये नेपाली चलचित्रको स्तरीयता पनि हो । केही वर्षयता चलचित्र क्षेत्रले प्रगति गरे पनि बेफुर्सदका कारणले केही समयदेखि चलचित्र हेर्न पाएको छैन । चलचित्र हेर्न नभ्याए पनि सकेसम्म नेपाली चलचित्र हेर्नुपर्छ, यसलाई माया गर्नुपर्छ भन्नेमध्ये म पनि पर्छु । अहिले फुर्सदको कारणले चलचित्र हेर्न नपाए पनि पहिले हेरेको चलचित्रका स्वाद भुलेको छैन । सानामा त झन् धेरै हेर्थें । मलाई थाहा भएको र आपैँmले चलचित्र भवनमा गएर हरेको पहिलो चलचित्र ठुल्दाइ हो । ०५३ तिर हेरेको होला । त्यो समय स्कुले विद्यार्थी थिएँ, कक्षा ८ मा पढ्थेँ । त्यति बेलाको कुरै अर्काे, के नेपाली, के हिन्दी चलचित्र हेर्न पाए पुग्थ्यो ।
हेरेकै चलचित्रको कुरा गर्नुपर्दा म त्यो दिन आज पनि सम्झन्छु । जुन दिन मलाई चलचित्र हेरेर गल्ती गरेछु जस्तो लागेको थियो । जब म एसएलसी सकेर सिद्धनाथ बहुमुखी क्याम्पस कञ्चनपुर अध्ययन गर्न थालेको थिएँ । अध्ययनमा जति नै व्यस्त भए पनि हप्ताको एक दिन अर्थात् शनिबार चलचित्र हेर्थें । नेपाली होस् कि हिन्दी यसको मलाई केही फरक पर्दैनथ्यो । ०५८ तिर होला । म अध्ययनका अलवा क्याम्पसको अनेरास्ववियुसँग आबद्ध भएँ । अनेरास्ववियुमा आबद्ध भए पनि म फुर्सद मिलाएर चलचित्र हेर्ने गर्थेँ । एकदिन चलचित्र हरेर सिनेमा भवनबाट बाहिर निस्कँदै थिए । बाहिरिने क्रममा मेरा विपक्षी साथीहरूले चलचित्र भवनमै मलाई देखेँ । अनेरास्ववियुमा आबद्ध भएर पनि चलचित्र हेरेको भन्ने विषयमा मेरो धेरै आलोचना भयो । विपक्षीलगायत आफ्नै साथीहरूको समेत आलोचना खेप्नुपर्दा चलचित्र हेरेर ठूलो गल्ती गरेछु कि भन्ने मलाई लाग्यो ।
अगाडि हेरेको याद भएको चलचित्र ‘बलिदान’ हो । साँच्चै भन्नुपर्दा यो चलचित्र मलाई पनि मन परेको थियो । चलचित्रमा निर्माण हँुदा ताकाका सामाजिक विषयवस्तुलाई जस्ताको तस्तै उजार गरिएकाले पनि मलाई मन परेको हो । त्यसपछिको चलचित्र ‘दासढुंगा’ पनि राम्रै याद छ । नेताका विषयमा निर्माण भएको या चलचित्र वास्तविक बनेकाले चर्चा कमाएको होला ।
पछिल्लो समय निर्माण भएका चलचित्र मैले हेर्न त भ्याएको छैन । तर, मिडियाबाट थाहा पाउँदा चलचित्र धेरै राम्रा बनेका छन् जस्तो लागेको छ । तर, पनि चलचित्रले व्यवसाय नगरेका समाचार सुनिन्छ । हाम्रो देशको बजार सानो भएर पनि होला । तर, यसको बजार विस्तारका लागि भारतीय चलचित्र हाम्रो देशमा प्रदर्शनका लागि आएजस्तै भारतमा पनि नेपाली चलचित्र प्रदर्शनमा ल्याउने माध्यम बनाउन चलचित्रकर्मीलाई सुझाव पनि दिन्छु ।
नेपाली चलचित्रका कलाकार खासै धेरैसँग मेरो दोहोरो चिनजान छैन । चिनजान भएका राजेश हमाल र भुवन केसी हुन् । विरासत भन्ने चलचित्रको च्यारिटीमा यी नायकसँग मेरो दोहोरो चिनजान भयो । नायिकाको कुरा गर्नुपर्दा ऋचा घिमिरेसँग मात्र हो । उनीसँग पनि कार्यक्रमकै सिलसिलामा चिनजान भएको हो । आफूले मात्र चिन्नेको कुरा गर्ने हो भने धेरै कलाकार चिन्छु ।
मलाई सबैभन्दा मनपर्ने कलाकार नायकमा राजेश हमाल र नायिकामा निरुता सिंह हुन् । यी दुवैको अभिनय राम्रो लाग्छ । चलचित्रकै कुरा गर्दा मलाई युवा अवस्थाको सम्झना आयो । युवा अवस्थामा मलाई पनि चलचित्रको हिरो बन्न रहर नजागेको होइन । तर, त्यति बेला हिरो बन्न सकिएन, अहिले कहीँकतैबाट अफर आयो भने पनि रहर छैन । हिरो नै नभए पनि चलचित्रमा अफर आए अभिनय गर्दै नगर्ने मनस्थिति पनि मैले बनाएको छैन । राष्ट्रियता झल्काउने र वस्तुगत रूपमा सामाजिक जागरण ल्याउने खालका चलचित्रमा अफर आयो भने अभिनय गर्छु । तर, चलचित्र निर्माण भने कहिलै गर्दिनँ ।
(वार्तामा आधारित)

प्रतिक्रिया