भारतमा नयाँ रोजगारी घट्यो

नयाँदिल्ली : भारतमा सन् २०१२ मा नयाँ रोजगारीको अवसरमा कटौती भएको एक अध्ययनले देखाएको छ । भारतीय उद्योग संगठन एसोच्यामले बुधबार प्रकाशित गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखाइएको हो । प्रतिवेदनअनुसार सन् २०१२ मा नयाँ रोजगारीमा २१ प्रतिशतले कमी आएको छ ।
प्रतिवेदनअनुसार सूचना प्रविधिका क्षेत्रमा भने रोजागारी वृद्धि भएको छ । सो क्षेत्रमा ४० प्रतिशतको हाराहारीमा रोजगारी प्राप्त भएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा सन् २०१२ मा पाँच लाख ३० हजार नयाँ रोजगारी सिर्जना भए पनि यो लक्ष्यभन्दा कम रहेको जनाइएको छ ।
गत वर्षको पहिलो ६ महिना अर्थात् जनवरीदेखि जुनसम्म दुई लाख ८० हजार रोजगारीका अवसर सिर्जना भएको थियो । छ महिनामा यो तथ्यांक घटेर दुई लाख ४० हजारमा पुगेको थियो । प्रतिवेदनमा सबैभन्दा धेरै रोजगारी दिल्ली र एनसिआर अर्थात् राष्ट्रिय राजधानी क्षेत्रमा प्राप्त भएको बताएको छ ।
रोजगारीसम्बन्धी वेबसाइट नोकरी डट कम, साइन डट कम, मोनस्टर डट कम आदिमा छापिएका रोजगारीमा रिक्त स्थानहरूलाई हिसाब गरेर एसोच्यामले प्रतिवेदन बनाएको हो । प्रतिवेदनअनुसार सबैभन्दा धेरै रोजगारी सूचना प्रविधि क्षेत्रमा सिर्जना भएको छ । (एजेन्सी)

प्रतिक्रिया