पुन:एकीकरणमा उत्तर कोरियाको जोड

सोल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले नयाँ वर्षको उपलक्ष्यमा टेलिभिजनमार्फत सम्बोधन गरी देशवासीलाई शुभकामना दिएका छन् । गत १९ वर्षमा उत्तर कोरियामा सर्वोच्च नेताले यसरी टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गरेको यो पहिलो अवसर हो । यसअघि सन् १९९४ मा नेता उनका हजुरबुबा किम इल सुङले रेडियो र टेलिभिजनमार्फत सार्वजनिक सम्बोधन गरेका थिए ।
मंगलबारको सम्बोधनमा नेता उनले कोरियाली प्रायद्वीपको पुन:एकीकरण गरी तनाव कम गर्नुपर्ने बताए । बाबु किम जोङ इलको निधनपछि सन् २०११ मा उत्तर कोरियाका सर्वोच्च नेता बन्न पुगेका उनले दुई कोरियाबीचको एकीकरण र अर्थतन्त्र सुधारमा लाग्नुपर्नेमा जोड दिए । दक्षिण कोरियामा हालै सम्पन्न निर्वाचनबाट कन्जरभेटिभ नेत्री पार्क ग्युन ही प्रधानमन्त्री बनेपछि नेता उनले सार्वजनिक रूपमा मैत्रिपूर्ण सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा नेता उनले स्वाधिनता, शान्ति र मित्रताको सिद्धान्तमा उत्तर कोरिया अटल रहने बताए । नयाँ वर्षलाई कोरियाली प्रायद्वीपको पुन:एकीकरण गर्ने दिशामा खर्चिनु पर्नेमा समेत उनले जोड दिए । ‘पुन:एकीकरण अभियानाई नयाँ उचाइमा पुर्‍याउन सम्पूर्ण कोरियाली राष्ट्र राष्ट्रव्यापी देशभक्तिपूर्ण संघर्षमा लाग्नुपर्छ,’ उनले भने । पुन:एकीकरणबाट मात्रै उत्तर र दक्षिण कोरियाबीचको तनाव कम हुने भएकाले यसतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।
चर्को अन्तर्राष्ट्रिय दबाबको बेवास्था गर्दै उत्तर कोरियाले गत महिना उन्हा–३ नामक रकेट प्रक्षेपण गरी पृथ्वीको कक्षमा भू–उपग्रह तैनाथ गरेपछि उत्तर कोरियाली प्रायद्वीपमा युद्ध उन्मुखको अवस्था सिर्जना भएको थियो । दक्षिण कोरिया, जापान, अमेरिकालगायतले भू–उपग्रह तैनाथ गर्ने नाममा उत्तर कोरियाले लामो दूरीसम्म मार हान्नसक्ने क्षेप्यास्त्र प्रविधीे परिक्षण गरेको आरोप लगाएका थिए । अमेरिकासम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र निर्माणमा उत्तर कोरिया लागि परेको पश्चिमी विश्लेषकहरूले बताइरहेका बेला उत्तर कोरियाले गरेको रकेट परिक्षणलाई गम्भीरतापूर्वक लिइएको थियो । त्यसलगत्तै दक्षिण कोरियाका एक प्रतिरक्षा अधिकारीले अमरिकासम्म मार हान्नसक्ने क्षमता उत्तर कोरियाले हासिल गरिसकेको बताएका थिए । दश हजार किलोमिटरसम्मको क्षेत्रलाई उत्तर कोरियाले आक्रमणको तारो बनाउनसक्ने र यसबाट अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा पाँचदेखी ६ सय केजी वजनको उत्तर कोरियाली मुखास्त्र खस्न सक्ने दाबी उनले गरेका थिए । यस्तोमा उत्तर कोरियाले नयाँ वर्षमा मेलमिलाप र शान्तिलाई बढावा दिने खालको भनाइ राखेको हो । (एजेन्सी)

प्रतिक्रिया