घुँडामाथि देखाए हंगामा हुन्थ्यो

०५१ तिर होला । कलेज अध्ययनसँगै म फोटोग्राफीतिर पनि लागेँ । पहिल्यैदेखि यसतिर रुचि थियो । एकजना दाइ फ्ल्यास स्टुडियो चलाउनु हुन्थ्यो । आग्रह गरेँ– ‘दाइ, मलाई पनि फोटोग्राफी सिकाइदिनुपर्‍यो ।’ म उहाँकै स्टुडियोमा काम गर्दै फोटोग्राफी सिक्न थालेँ ।

तीन महिनाजति भएको थियो, सम्झना नामकी युवती फोटोसेसन गराउन आइन् । मैले पहिलोचोटि रिस्क लिएँ । उति बेला डिजिटल क्यामेराको विकास भइसकेको थिएन, नेगेटिभमा खिचेर धुलाउनुपथ्र्यो । पहिलोचोटि गरेकाले होला, मलाई कतिखेर धुलाएर हेरिहालौँ भएको थियो । तर, राम्रो आएछ, मख्खै परेँ । सम्झनाको मुहार हेरेँ, उनी पनि आफ्नो फोटो देखेर दंग परिरहेकी थिइन् । त्यो फोटो त्यति बेला एउटा चर्चित पत्रिकाको ब्लोअपमा छापियो । पत्रिकाका मान्छेले मेरो निकै तारिफ गरे । अफिसमा बोलाएर थप हौसला दिए । पहिलोचोटि आफ्नो नाम र फोटो पत्रिकामा छापिँदा कम्ती रमाइलो लागेको थिएन ।
त्यसपछि फोटोग्राफी बजारमा मेरो चर्चा बढ्न थाल्यो । मोडलहरूको नजर मतिर पर्न थाल्यो । त्यही बेला दुई मोडलले अफेयरको हल्ला चलाएर मलाई प्रयोग गर्न खोजेछन् । यो थाहा पाउनासाथ मैले तिनीहरूको संगतै छाडिदिएँ । तर, बजारमा मेरो र उनीहरूको अफेयर चलेको हल्ला फैलिइसकेछ । कम्ती अप्ठ्यारो परेको थिएन मलाई । त्यति बेलाका चर्चित मोडल नै थिए ती । फ्ल्यास स्टुडियो अहिले आफैँले चलाएको छु । मलाई सम्झना आउँछ, अहिले मोडलिङ अनि चलचित्रमा स्थापित भइसकेका थुप्रै युवतीका सुरुआती फोटोसेसन मैले नै गराएको थिएँ । जति बेला उनीहरू सेलेब्रिटी बनिसकेका थिएनन् । त्यसो त चर्चित मोडलहरू पनि मसँग फोटो खिचाउन धाउन थालेका थिए ।
सञ्चिता लुइँटेल
०५६/०५७ तिर होला, सञ्चिता पहिलोचोटि मेरो स्टुडियोमा आएकी । उनले कुनै चलचित्र खेलेकी थिइनन् । चलचित्रमा प्रोडक्सन हेर्ने एक मान्छेले उनलाई मेरोमा ल्याएका रहेछन् । सञ्चिता भन्दै थिइन्– ‘चलचित्रमा काम गर्ने कुरा चलिरहेको छ, राम्रो फोटो निकालिदिनुस् है †’ मलाई पनि लागेको थियो– यति राम्री केटीको फोटो पक्कै राम्रो आइहाल्छ नि † केही पोज दाइले क्लिक गर्नुभयो, केही मैले । नभन्दै उनको फोटोले राम्रै चर्चा पायो । कति पत्रपत्रिकाले कभरमै स्थान दिए । फोटोसँगै मेरो पनि चर्चा बढ्यो । सबैले भन्न थाले– यो मान्छेले साँच्चै राम्रो फोटो खिच्छ ।
सञ्चितालाई दोहोर्‍याएर फोटोसुटका लागि बोलाएँ । यति बेला उनी आशीर्वाद चलचित्रमा व्यस्त थिइन् । यो फोटोलाई सिनेमासिक कामनाले कभरमै छाप्यो । अब मसँग फोटोसेसन गराउन चाहनेको लर्को नै लाग्न थाल्यो ।
कोहिनुर
०५९/६० सालतिर होला । त्यो समय मोडलहरूको फोटो खिच्नु फलामको चिउरा चपाएसरह थियो । किनकि अहिलेजस्तो डिजिटल प्रविधि थिएन । न त मोडलहरू नै अहिलेजस्तो ग्ल्यामरस रूपमा खुल्ने साहस देखाउँथे । घुँडाभन्दा माथि देखियो कि हंगामा । मोडललाई खुलाउनै गाह्रो, मिडियाहरूचाहिँ ग्ल्यामरस फोटोको माग गर्ने । यस्तै माहोलमा कोहिनुरको फोटोसेसन गरेँ । उनी त्यति बेलै चर्चित थिइन् । तर, उनी सोचेभन्दा बढी एक्सपोज भइदिइन् । एकसे एक हट पोज निस्किए । ती फोटोले मिडियामा अनगिन्ती स्थान पाए ।
चर्चासँगै मेरो र कोहिनुरको सम्बन्ध पनि राम्रो भयो । कतिले त हामीबीच अफेयर चलेको आरोप पनि लाए । भन्थे– ‘यी दुईको अफेयर छ, त्यसैले कमलले कोहिनुरलाई प्रमोट गरेको हो ।’ यी सबै चर्चालाई मैले फोटोग्राफीले दिएको सफताका रूपमा लिएँ, नकारात्मक रूपमा हेरिनँ ।
सज्जा मैनाली
त्यति बेला पहिलो चलचित्र खेल्ने तयारी गर्दै रहिछन् । श्याम श्रेष्ठ नामका हिरोसँग उनी मेरो स्टुडियो आइपुगिन् । उनले श्यामसँगको ज्वाइन र एकल फोटोसेसन गराइन् । हिजोआजको जस्तो हट नभए पनि त्यो फोटो त्यो बेलाका लागि ग्ल्यामरस बन्यो । मिडियाहरूले रुचाए । फोटो सार्वजनिक भएपछि सज्जा त चर्चित भइन् नै, मलाई पनि थुप्रैले ‘हट फोटोग्राफर’ पो भन्न थाले । त्यसपछि मैले खिचेको सोना श्रेष्ठको फोटो पनि सज्जाकै जस्तो चर्चामा आयो ।
निशा अधिकारी
आठ वर्षअगाडि होला, फोटोग्राफीमा रिलकै प्रचलन थियो । एक एजेन्सीमार्फत निशा अधिकारी मसँग फोटोसुट गराउन आइपुगिन् । सम्भवत: उनले त्यति बेलासम्म म्युजिकभिडियोमा पनि अभिनय गरेकी थिइनन् । भर्खर एसएलसी सकेर ‘ए’ लेभल पढ्दै गरेकी ।
मैले उनका लागि एउटा रिल सक्ने तयारी गरेको थिएँ । तर, दुई रिल सकिँदासम्म पनि उनको फोटोसेसन सकिएन । यसमा उनको कमजोरी थिएन । नयाँ भए पनि यति राम्रो पोजहरू दिइन् नि, म त क्लिक गरेको गर्‍यै भएछु । सुरुमै व्यावसायिक मोडलका जस्ता नौला र सहज पोज थिए उनका । केही सिकाउनै नपर्ने । मैले अहिलेसम्म फोटोसेसन गराएका व्यक्तिमध्ये आफैँ आकर्षक पोजहरू दिन सक्ने, सिकाउन नपर्ने भनेकी निशा नै हुन् । त्यति बेलै उनमा विशेष प्रतिभा भएको आँकलन गरेको थिएँ । त्यसपछि उनले विज्ञापन, म्युजिकभिडियो तथा चलचित्रहरू पाइन् ।
उनी घरमा आमालाई फ्ल्यास स्टुडियोमा कमल दाइसँग फोटोसुट गराउने भनेर आउँदी रहिछन् । त्यसैले आमाले पनि मलाई चिन्नुहँुदो रहेछ । निशाले फोनमा आमासँग कुराकानी पनि गराइन् । उहाँ मलाई ‘फ्ल्यास फोटोग्राफर’ भनेर चिन्नुहुन्छ । कहिलेकाहीँ त आफ्नै परिचय नै फेरियो कि के हो जस्तो पनि लाग्छ ।
रूपा उपाध्याय
०५७–५८ को बेला । मोडलहरू शरीर थोरै एक्स्पोज गर्न पनि हिचकिचाउँथे । थोरै एक्सपोज गरिएका फोटोले पनि तहल्का पिट्ने । यस्तैमा रूपा उपाध्याय मेरो स्टुडियोमा आइन् । तर, उनले त एकसे एक ग्ल्यामरस पोज दिइन् । फोटो बाहिर आउनासाथ हंगामा नै भयो । यो फोटो ग्ल्यामरस प्रस्तुतिका लागि समाचार पनि बन्यो पत्रिकाहरूमा । यस्ता फोटा त आउनै नहुने, मानिसहरू मोडलसँग मेरो अफेयरको हल्ला चलाउन थालिहाल्थे ।
ऋचा घिमिरे
त्यति बेला उनी टेलिभिजनमा कार्यक्रम चलाउँथिन् । एउटा पत्रिकाको कभरमा फोटो राख्ने भनिएपछि म उनलाई भेट्न गएँ । यति बेला मोडलहरूको फोटोग्राफी थप ग्ल्यामरस हुँदै गइरहेको थियो । एक्सपोज नै नभएका पुराना शैलीका फोटा अब काम थिएनन् । ऋचालाई पहिलोचोटि देख्दा फोटो राम्रो आउलाजस्तो लागेन । हिस्सी परेकी त थिइन् तर काली थिइन् । उनलाई विगतको एल्बम देखाउन भनेँ । कुनैमा राम्रै देखिएकी थिइन्, कुनैमा चाहिँ कस्ती–कस्ती † तैपनि अलि राम्रो मेकअप र ड्रेसअप गरे हुन्छजस्तो लाग्यो । उनलाई त्यही सल्लाह दिएँ । नभन्दै राम्रो फोटो आयो । चर्चा हुन थाल्यो– ‘मान्छे जस्ता भए पनि कमलले राम्रो फोटो निकालिदिन्छ ।’
नीता ढुंगाना
नीताको फोटोसेसन पहिलोचोटि तीन वर्षअघि गरेको थिएँ । दोस्रोचाहिँ गत असारमा हो । वर्षायाम भएकाले फोटोसेसनमा पनि त्यसैको कन्सेप्ट उतारिएको थियो । धानखेतमा खेलिरहेको र पानीमा भिजेर वातावरणलाई प्रोत्साहन गर्ने खालका फोटो खिचिए । कपडा लुकाएर संवेदनशील अंग पात र लहराले छोपिएजस्तो देखिने फोटोले निकै चर्चा कमायो । सरसरी हेर्दा नीता नांगै छिन्जस्तो लाग्थ्यो, जीउमा जुत्ता मात्रै देखिन्थ्यो । त्यसैले कसैकसैले भने– ‘कमलजी, यो त अलि बढी भएन र ?’ १८ वर्षको करियरमा कसैले मेरो फोटोबारे यति धेरै प्रश्न राखेको यो पहिलो हो ।
मोडल बेहोस
एक केटा मोडलको फोटोसेसन गर्दै थिएँ । सायद उनको नाम किरण हो । आधा घन्टाजति भएको थियो, उनी पोज दिँदादिँदै ढले । म आत्तिएँ । सहयोगीसँग सल्लाह गरेँ । उनको टेलिफोन डायरी निकालेर घरमा फोन गरिदियौँ । आफन्त आएपछि थाहा भयो, उनलाई छारे रोग रहेछ । त्यो पनि कस्तो भने सुगारंग देखियो भने उनी बेहोस हुने रहेछन् । उनले सेतो लुगा लगाएका थिए । फोटो खुल्छ भनेर पर्दामा सुगारंग प्रयोग गरेको थिएँ । यो कुरा थाहा पाएपछि उनलाई पुन: होसमा ल्याएर फोटोसुट गरियो ।
करेन्ट लाग्दा
रीमा केसी नामकी मोडलको फोटोसुट थियो । स्टुडियो मिलाई नसकिएकाले उनी उनी फ्रेस भएर आउँछु भनेर बाहिर निस्किइन् । उनी आउँदा सबै तयारी पूरा गरिसकेको थिएँ । फोटोसेसन सुरु गरियो । त्यहीबीच उनी जोरले चिच्याइन्, करेन्ट लागेछ । भएछ के भने उनी हात पानीले भिजाएर आइछन् अनि लाइटमा समाइछिन् । उनी बेहोस भएर ढलिन् । उनी चिच्याएको सुनेर स्टुडियोमा मानिसहरूको भीड लाग्यो । सबैजना के भो, के भो भन्दै आइपुगे । यसै कारण फेरि त्यो फोटोसेसन गराउन तीन घन्टा ढिलो भयो । म निकै आत्तिएको थिएँ ।

प्रस्तुति : कुवेर गिरी

प्रतिक्रिया