“बलात्कारीलाई नपुंसक बनाऊ, कि झुन्डयाऊ”

नयाँदिल्ली : भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा)का एक नेताले बलात्कारमा संलग्नलाई अधिकतम सजाय दिन माग गरेका छन् । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने अथवा उनीहरूलाई नपुंसक बनाइनुपर्ने उनको माग छ ।
भाजपा नेता भेनकिह नइडुले सोमबार संवाददाताहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् । ‘बलात्कारीलाई अधिकतम सजाय दिइनुपर्छ । उनीहरूलाई या त मृत्युदण्ड दिइनुपर्छ, अथवा रासायनिक प्रक्रियाबाट उनीहरूको लिंग उन्मूलन गरिनुपर्छ,’ उनले भने ।
सत्तारुढ कांग्रेस आइले बलात्कारविरुद्ध कडा कानुन बनाउने सम्बन्धमा नयाँ प्रस्ताव ल्याउने चर्चा चलिरहेका बेला भाजपा नेताको यस्तो भनाइ आएको हो । कांग्रेसको प्रस्तावमा बलात्कारमा संलग्नलाई ३० वर्ष काराबास सजायदेखि नपुंसक बनाउनसक्नेसम्मको सजाय रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरिरहेका बेला प्रस्तावसँग मिल्दोजुल्दो भनाइ भाजपा नेताले राखेका हुन् ।
सामूहिक बलात्कारको सिकार भएकी २३ वर्षीया छात्राको मृत्यु भएपछि बलात्कारविरुद्ध कडा कानुन ल्याउनुपर्ने माग भारतमा झन तीव्र भइरहेको छ । बलात्कारमा संलग्नलाई मृत्युदण्ड माग गर्दै भारतमा अझै प्रदर्शन जारी रहेकाले भारत सरकारले दबाब महसुस गरिरहेको छ । गत डिसेम्बर १६ मा केटा साथीसँग रात्रि फिल्म हेरेर फर्किरहेकी ती छात्रामामाथि सामूहिक बलात्कार भएको थियो । उनीमाथि ४० मिनेटसम्म बलात्कार गरेपछि उनलाई बसबाहिर फ्याँकिएको थियो । उनलाई बचाउन खोज्दा केटा साथीलाई बलात्कारीका तर्फबाट फलामको छडले प्रहार गरिएको थियो ।
बलात्कृतको परिवारलाई क्षतिपूर्ति
सामूहिक बलात्कारका कारण छात्राको मृत्यु भएपछि उनको परिवारलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । क्षतिपूर्तिबापत परिवारलाई १५ लाख रुपियाँ दिइने दिल्ली सरकारले जनाएको छ । दिल्लीकी मुख्यमन्त्री शिला दीक्षितको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले क्षतिपूर्ति दिने निर्णय गरेको हो । साथै पीडित परिवारका एक सदस्यलाई राहतस्वरूप सरकारी जागिर दिइने निर्णयसमेत बैठकले गरेको छ । (एजेन्सी)

प्रतिक्रिया