चीनलाई विश्वशक्ति ठान्दैनन् चिनियाँ

बेइजिङ : चीन विश्वशक्ति बनिसकेको विश्लेषण सर्वत्र गरिएपछि चिनियाँ जनता भने यसप्रति सहमत छैनन् । बहुसंख्यक चिनियाँ नागरिकलाई आफ्नो मुलुक विश्वशक्ति बनिसकेको जस्तो लाग्दैन । हालैको एक सर्वेक्षणले चीनका ८० प्रतिशत जनताले आफ्नो मुलुक अझै पनि विश्वशक्ति भएको नठानेको हालै देखाएको छ । सर्वेक्षण नतिजालाई उद्धृत गर्दै चीनको ‘ग्लोबल टाइम्स’ दैनिकमा सोमबार यससम्बन्धी समाचार दिइएको छ ।
सर्वेक्षणमा सहभागी आधाभन्दा बढी चिनियाँ अमेरिकासँगको चीनको सम्बन्धप्रति सकारात्मक पाइएका थिए । तर, जापानप्रति भने उनीहरूमा धारणा नराम्रो पाइएको थियो । सर्वेक्षणमा सहभागी ८२ दशमलव ३० प्रतिशतले चीनले विश्वशक्तिको स्तर प्राप्त गर्न बाँकी नै रहेको बताएका छन् । ‘ग्लोबल टाइम्सले उक्त सर्वेक्षण ‘ग्लोबल पोल सेन्टर’ले गरेको उल्लेख गरेको छ । टेलिफोन तथा इन्टरनेटमार्फत सर्वेक्षण गरिएको र यसमा बेइजिङ तथा सांघाईसहित सात चिनियाँ सहरका १५ वर्षमाथिका एक हजार चार सय चार व्यक्तिले भाग लिएको बताइएको छ । (एएफपी)

प्रतिक्रिया