भारतीय झन्डावाल जिपले धनगढी आतंकित

कैलाली, १७ पुस । सोमबार अपराह्न धनगढीमा प्रवेश गरेको एक झन्डावाल भारतीय नम्बर प्लेटको जिपले सर्वसाधारण र सवारी साधनलाई ठक्कर दिँदै आतंकित पारेको छ ।

अपराह्न साढे पाँच बजेतिर अनियन्त्रित हुँदै धनगढीको मालिका विकास बैंक अगाडिबाट मेनरोड, शिवनगर, क्याम्पसरोड हुँदै पुन: मेनरोड पुगेको युपी ३२ इके ८००८ नम्बरको सेतो जिपले सडक पेटीमा हिँडिरहेका बटुवा तथा सवारीसाधनलाई ठक्कर दिँदै आतंकित पारेको हो । जिपमा विधायक लेखिएको र झण्डा पनि रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सुदामसिंह रावलले बताए ।
चालकले अनियन्त्रित भएर सडकको चारैतिर जिपलाई कुदाएर ठक्कर दिँदा बटुवा, मोटरसाइकल, साइकल, स्कुटर, रिक्सालगायत तीन दर्जन सर्वसाधारण घाइते भएका थिए । अनियन्त्रिक तवरले चलाएको जिपलाई प्रहरीले मुस्किलले करिब आधा घण्टापछि मेनरोडबाट नियन्त्रणमा लिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार अनियन्त्रिक तवरले चलाइएको जिप ठक्कर दिँदै हिँडेकोले नियन्त्रणमा लिन प्रहरीलाई धौधौ परेको थियो । अनियन्त्रित भएर चलाइएको जिप देखेपछि बजारमा रहेका बटुवा, मोटरसाइकल चालक, साइकलमा सवार, रिक्साचालकको भागाभाग भएको थियो ।
‘जिपलाई नियन्त्रणमा लिएर ठक्करबाट घाइते तथा क्षति पुगेका सवारी साधनको लगत लिने काम भइरहेको छ,’ प्रवक्ता रावलले भने, ‘हालसम्म १२ जनाको जिपको ठक्करबाट सवारी साधनमा क्षति पुगेको र छ जनालाई चोटपटक लागेको प्रारम्भिक जानकारी आएको छ ।’
भिडभाड भएको मुख्य सडकमा जथाभावी जिप हाक्ने लखनउ घर भएका राहुलप्रताप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । चालक सिंहले काका लखनउका विधायक भएको प्रहरीसमक्ष बताएका छन् भने जिप उनका बुबा अशोककुमार सिंहको नाममा रहेको प्रहरीको भनाइ छ ।
सिंहसँगै जिपमा दुई युवती र तीन युवा थिए । उनीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शिवनगरमा पार्किङ गरेर पसलमा बसिरहेको बेला एक्कासी अनियन्त्रित भएर आएको जिपले ठक्कर दिएर से २ प १८०५ नम्बर मोटरसाइकलमा ठूलो क्षति पुगेको पीडित सुवास थापाले बताए । पछि बुझ्दै जाँदा जिपको ठक्करबाट कम्तीमा तीन दर्जन सवारी साधनमा क्षति पुगेको थापाले बताए ।
चालक सिंहले आफू धनगढीको सीमावर्ती भारतीय दुधुवा नेशनल पार्क घुम्न आएको र त्यहीँबाट धनगढी पनि घुम्न आएको बताउँदै आफूले जथाभावी रूपमा जिप चलाएर गल्ती गरेको बताएका छन् ।

प्रतिक्रिया