पिटिइन् वन कर्मचारी

धरान, १७ पुस । मुलुकका विभिन्न स्थानमा महिलामाथि हिंसाका घटना बढिरहेको बेला धरानमा महिला कर्मचारीमाथि कार्यालयमै सांघातिक आक्रमण भएको छ ।

धरानस्थित लांघाली सामुदायिक वन उपभोक्ता समूहकी वन हेरालु मेनुका तामाङ (सविना) लाई कार्यालयमा बैठक सकिएलगत्तै बैठक कक्ष बाहिर रहेका युवाको समूहले सांघातिक आक्रमण गरेको हो । मुख छोपेर आएका समूहले कुर्सी, लठ्ठी, हेल्मेटलगायत हतियारले तामाङलाई लछारपछार पार्दै जथाभावी कुटपिट गरेको प्रत्यक्षदर्शी विना राईले बताइन् ।
पीडित तामाङले सोमबार पत्रकार सम्मेलन गरेर वैद्य पक्षीय नेकपा–माओवादी धरान नगर इन्चार्ज दिलबहादुर रामदामको निर्देशनमा समूहकै अध्यक्ष झमकबहादुर मगरको संलग्नतामा हमला भएको बताइन् । उनीले अध्यक्ष मगरले भेट्नेबित्तिकै पार्टीमा लाग्न या काम छाडेर जान निर्देशन दिने गरेको तर आफू गृहिणी भएकाले राजनीतिमा नलाग्ने बताउँदै आएकै कारण आक्रमण भएको बताइन् । अध्यक्ष मगरले सँधै गालीगलौज, पूरा समय काम गर्दा पनि तलब काट्ने गरेको, एक्लै भएको अवस्थामा दुव्र्यवहार गर्न खोजेको लगायतका मानसिक यातना दिने गरेको पीडित तामाङले बताइन् । उनले एक महिनाको परीक्षणकालसहित एकवर्षको अवधि राखेर १६ माघ ०६८ मा नियुक्ति दिए पनि समय अगावै आइतबार नै निष्कासनको पत्र थमाउन खोजेको तर आफूले नबुझेको बताइन् । ‘मैले नियम अनुसार काम गर्दै आएको छु, किन काम छाड्ने’ भन्दा आक्रमण भएको उनको भनाइ छ ।
धरान–८ गैरीटोलकी तामाङ वन समूहका उपभोक्तासमेत हुन् । ‘आफूले वनमा भएको भ्रष्टाचार, अनियमितता, साधारण सभामा विलम्ब लगायतका मुद्दामा आवाज उठाउँदै आएकाले आक्रमण भएको उनको भनाइ छ । आक्रमण भएपछि जाहेरी दिन जाँदा इलाका प्रहरी कार्यालय धरानले जाहेरी लिन नमानेको पौरखी नेपालकी अध्यक्ष चेतना श्रेङले बताइन् । मजदुरी गरेर खाने महिलामाथि कुटपिट हुँदा न्यायका लागि आइतबार र सोमबार लगातार जाहेरी दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेकाले महिलामाथिको हिंसालाई बढावा दिन प्रहरी प्रशासन नै लागिपरेको उनको आरोप छ । पीडित तामाङले दोषी दिलबहादुर रामदाम, झमकबहादुर मगर र आफूूलाई कुटपिट गर्ने युवालाई कारबाही र कार्यालयमा काम गर्ने वातावरण बनाउन अपिल गरेकी छिन् ।

प्रतिक्रिया