११ हजार घर अझै विद्युत्विहीन

बाग्लुङ, १६ पुस । बाग्लुङ जिल्लाका ११ हजार घरधुरीका बासिन्दा अझै पनि विद्युत् सेवाबाट वञ्चित भएका छन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०६८ को तथ्यांक अनुसार जिल्लाका ११ हजार घर विद्युत्विहीन रहेको देखिएको छ ।

११ हजार मध्ये सात हजार एक सय ९४ घरधुरीका बासिन्दा अझै पनि पूर्णरूपमा मट्टितेल किनेरै धिपधिपे टुकीको सहारा लिन बाध्य छन् । त्यसबाहेक चार हजार ४६ घरधुरीका बासिन्दाले आफ्नै लगानी र प्रयासमा बायो ग्यास र अन्य बिभिन्न ऊर्जा प्रयोग गर्ने गरेको पाइएको जिल्ला तथ्यांक कार्यालय बाग्लुङले जनाएको छ । जिल्लाभरमा ६१ हजार ४ सय ८२ घरधुरी रहेकोमा ५० हजार २ सय ४२ घरधुरीमा भने विद्युत् सेवा पुगेको जिल्ला तथ्यांक कार्यालय बाग्लुङका सूचना अधिकारी घनश्याम सापकोटाले बताए ।
नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय बाग्लुङका प्राविधिक सर्वजित केसीका अनुसार केन्द्रीय विद्युत् उपभोग गर्ने २० हजार २ सय ५७ घरधुरी छन् भने सामुदायिक विद्युत् उपभोग गर्ने ५ हजार ३ सय ४ घरधुरी रहेको छ । जिल्लाको ऊर्जा क्षेत्रमा काम गर्दै आएको सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बाग्लुङले एइपिसी/इएसएपीको सहयोगमा ११ हजार ५ सय ६५ घरधुरीमा विद्युत् सेवा पुर्‍याएको संस्थाका सव–इञ्जिनियर गंगाप्रसाद आर्चायले बताए ।
११ हजार ७ घरधुरीमा ८ सय २२ किलोवाट माइक्रो हाइड्रो र ४७ किलोवाट पेल्ट्रिक सेटबाट ५ सय ५८ घरधुरीमा विद्युत् पुर्‍याएको उनको भनाइ छ । डिसीआरडिसीले अब लगत्तै विद्युत् सेवाबाट वञ्चित रहेका निसी, जलजला, राजकुत, बोबाङ र तारा गाविसका ५१ सय ५८ घरधुरी लाभान्वित हुने गरी माइक्रो हाइड्रोको सञ्चालन तयारीमा रहेको आचार्यले बताए । जिल्ला विकास समिति अन्तर्गत रहेको जिल्ला ऊर्जा तथा वातावरण शाखा बाग्लुङले भने १२ हजार ४ सय ७८ घरधुरीमा विद्युत् सेवा पुर्‍याएको बताएको छ । ‘अहिले विद्युत्विहीन गाउँमा सर्बेको काम भइरहेको छ ।’ जिल्ला ऊर्जा अधिकृत ललितेश्वर श्रीवास्तवले भने । मिनीग्रेडको अवधारणा पनि आएको र यसले पनि विद्युत् बिस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । खोला नभएका ठाउँमा मिनिग्रेडको अवधारणा कार्यान्वयनमा आए बिजुली पुर्‍याउन सकिन्छ । अबको दुई वर्ष भित्र जिल्लाका कुनै घर पनि विद्युत् पुग्न बाँकी नरहने उनले दावी गरे ।
गाउँ–गाउँमा लघु–जलविद्युत् आयोजना बन्ने क्रम तीव्र भए पनि अहिले पनि विद्युत् सेवाबाट वञ्चित देखिएको यो संख्या ठूलै भएको बताइएको छ । ‘अहिलेको समयमा पनि यतिधेरै घरधुरीमा विद्युत् नपुग्नु दु:खद हो ।’ जिल्ला विकास समिति बाग्लुङका स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले भने । विद्युत् विकासका लागि यसमा समग्र योजना बनाएर जानुपर्ने र त्यसका लागि समय लाग्ने उनले बताए ।
पछिल्लो तथ्यांक अनुसार दाउराबाट खाना पकाउने घरधुरी ५४ हजार ४ सय ३४ रहेको छ भने मट्टितेलबाट १ सय ८३, एलपी ग्यासबाट ६ हजार ४ सय २५, गुइँठा प्रयोग गर्ने १९, बायोग्यास १ सय ९, विद्युत्बाट २ र अन्य स्रोतबाट खाना पकाउने ११ घरधुरी रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया