सत्य माविमा अनियमितता

बाजुरा, १६ पुस । बाजुराको पाण्डुसैनस्थित सत्य माविमा आर्थिक अनियमितता भएको खुलासा भएको छ । विद्यालयमा निर्माण गरिने योजना अन्य क्रियाकलापको रकममा आर्थिक अनियमितता हुने गरेको खुलासा भएको हो ।

विद्यालयको भौतिक संरचना निर्माणदेखि पाठ्यपुस्तक खरिद प्रक्रियासम्म पनि आर्थिक हिनामिना भइरहेको सेवा क्षेत्रका अभिभावकले बताएका छन् । विद्यालयमा केही शिक्षकले नियमित पठनपाठन नगर्ने, विद्यालयमा नआएको दिन पनि हाजिरी लगाउने गरेको पाइएको छ । विद्यालयमा हालसम्म पनि सबै विद्यार्थीले पाठ्यपुस्तक नपाएको अभिभावकको गुनासो छ । जिल्ला शिक्षा कार्यालयले पाठ्यपुस्तक खरिदका लागि रकम निकासा गरेको भए पनि विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् । वार्षिक परीक्षा आउन लाग्दा पनि पाठ्यपुस्तक नपाउनुमा विद्यालयको नभई त्यहाँ कार्यरत शिक्षकको कमजोरी र आर्थिक लोभ मुख्यकारण रहेको विद्यार्थीले बताएका छन् ।
गाविसकै एक मात्र मावि विद्यालयका रूपमा रहेको सत्य माविमा प्रधानाध्यापकले प्रशासनदेखि शैक्षिक र आर्थिक विकासमा कुनै नयाँ क्रियाकलाप सञ्चालन नगरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । विद्यालयमा केही व्यक्ति मिलेर आफ्नै जस्तो गरेर स्वार्थपूर्ति गर्ने गरेको र विद्यालयको भविष्यबारे कुनै विचार नपुर्‍याएको असल शासनकर्मी टेकबहादुर सिंहले बताए ।
विद्यालयले खरिद गरेको एक कित्ता जग्गाको रकम अझैसम्म पनि नदिएको भन्दै जग्गा धनी काशीचन्द्र बोहराले जग्गा नै नदिने बताएका छन् । १० लाख २० हजार रुपियाँमा जग्गा खरिद गरी विद्यालयका नाममा दर्ता गरिएको भए पनि पूरा रकम नदिएको बताइएको छ । तर, विद्यालयले भने यी सबै विषयको खण्डन गरेको सिंहले बताए । जग्गा खरिद गर्न माओवादीका भरत विक, नेपाली कांग्रेसका नरेन्द्र रोकाया, एमालेका शतवीर बोहरा र विद्यालयका तर्फबाट बाबुराम जोशी र जनक शाही संलग्न रहेको विद्यालयले जनाएको छ ।
विद्यालयमा एक लाख ३५ हजार रुपियाँको लागतमा स्थानीय कवीन्द्र बोहरा र नन्दबहादुर रोकायाको अगुवाइमा घेराबार गरिए पनि काम सन्तोषजनक नभएको स्थानीयको गुनासो छ । त्यसैगरी, ४० हजार रुपियाँमा २५ वटा बेन्च खरिद गर्नुपर्नेमा २० वटा मात्र खरिद भएको बताइएको छ ।

प्रतिक्रिया