चिसोले मर्नेको संख्या आठ पुग्यो

रौतहट, १६ पुस । रौतहट जिल्लामा चलिरहेको शीतलहर प्रकोपले आइतबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

पतौरा–५ का ७२ वर्षीय टेकमन सिंह राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । प्रहरी तथ्यांकअनुसार कुर्मीसँगै रौतहटमा चिसोले मर्नेको संख्या आठ पुगेको छ ।
जाडोका कारण मर्नेहरू अधिकांश विपन्न र गरिब परिवारका रहेका छन् । जिल्ला प्रहरीका अनुसार नौ पुसमा सरुअठा–५ बस्ने ६० वर्षीया बतिया देवी तत्मा, १० पुसमा गौर–७ का ७१ वर्षीय धानुक पण्डित, ११ पुसमा डुमरीया ३ का ६० वर्षीय तुलसी चौधरी, १२ पुसमा बन्जरहा ४ की ८५ वर्षीया चम्पादेवी साह, १३ पुसमा कोपवा ६ की २० वर्षीया सन्तोषी कुमारी यादव, १४ पुसमा औरैया ८ का ५५ वर्षीय हरदेव साह र १४ पुसमा विश्रामपुर रमौलि बैरियाका ४० वर्षीय रामदेव रामको चिसोका कारण कठ्यांग्रीएर ज्यान गएको हो ।
दुई साता देखिको शीतलहरका कारण रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ । जिल्लाका अधिकांश भागमा बाक्लो हुस्सु तथा शीतसँगै पश्चिमतिरबाट चल्ने चिसो हावाले जनजीवन कष्टकर बनाएको हो । चिसो कै कारण जिल्लाका अधिकांश विद्यालय अझै पनि बन्द छन् ।
यता चिसो बढेपछि न्यानो कपडा खरिद गर्नेको भिड बढेको छ । ज्याकेट, टोपी, ऊनीका कपडाको बिक्री बढेको व्यपारीहरूले बताएका छन् । चिसो बढे पछि बिहान र बेलुका भने बजार सुनसान हुने गरेको छ । शीतलहर र चिसोका कारण जिल्ला अस्पताल गौरमा पनि बिरामीको संख्या बढन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटले यस्तो मौसममा दम तथा पुराना रोगीहरूलाई चिसोले बढी असर गर्ने भएकोले वृद्धवृद्धा तथा रोगी माथि विशेष ध्यान दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया