बलात्कृत छात्राको अन्त्येष्टि

नयाँदिल्ली : भारतमा सामूहिक बलात्कार भएकी छात्राको आइतबार अन्त्येष्टि गरिएको छ । थप उपचारका लागि सिंगापुर लगिए पनि उतै मृत्यु भएपछि भारत फिर्ता ल्याएर उनको अन्त्येष्टि गरिएको हो ।
बलात्कृत ती छात्राको नाम अहिलेसम्म खुलाइएको छैन । बसमा सवार रहँदै गर्दा २३ वर्षीया ती छात्रा दुई साताअघि बसभित्रै बलात्कृत भएकी थिइन् । घटनाबाट स्तब्ध आमाबाबुको अनुरोधमा उनको शवलाई सार्वजनिक नगरीकनै आइतबार अन्त्येष्टि गरिएको हो । दिल्लीको दक्षिणपश्चिमी द्वारका जिल्लामा छात्राका परिवार तथा मित्रले प्रार्थना गरेपछि उनको अन्त्येष्टि गरिएको हो ।
छात्राको शव लिएर आमाबाबु सिंगापुरबाट दिल्ली विमानस्थलमा आइपुग्दा प्रधानमन्त्री मनमोहन सिंह र प्रमुख सत्ताधारी दल कंग्रेस आई अध्यक्ष सोनिया गान्धी विमानस्थल पुगेका थिए । दिल्लीको अस्पतालमा प्रारम्भिक उपचारपछि यी छात्रालाई बुधबार राति सिंगापुर लगिएको थियो । प्रहरीले बलात्कारमा संलग्न ६ पुरुषमाथि मृत्युदण्डको माग गरिने जनाएको छ । बलात्कारमा संलग्नलाई मृत्युदण्ड माग गर्दै हप्तौँसम्म भारतमा प्रदर्शन भएपछि भारत सरकारले पनि अहिले दबाब महसुस गरिरहेको छ ।
गत डिसेम्बर १६ मा केटा साथीसँग रात्रि फिल्म हेरेर फर्किरहेकी ती छात्रामाथि सामूहिक बलात्कार भएको थियो । ४० मिनेटसम्म बलात्कार गरेपछि बसबाहिर फ्याँकिएको थियो । उनलाई बचाउन खोज्दा केटा साथीलाई बलात्कारीले फलामको छडले प्रहार गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया