हतियार विसर्जन होइन, वार्ता : तालिबान

पेसावर (पाकिस्तान) : पाकिस्तानका तालिबानी नेता हकिमुल्लाह मेहसुदले आफ्नो संस्था इस्लामाबादसँग वार्ताका लागि खुला भएको तर आफ्ना लडाकुले हतियार भने नबिसाउने बताएका छन् । उनको यससम्बन्धी एक भिडियो शुक्रबार जारी भएको छ । मेहसुदमाथि अमेरिकी सरकारले ५० लाख अमेरिकी डलरको पुरस्कार राखेको छ । मेहसुदले इस्लामाबादले वासिंगटनसँग सम्बन्ध विच्छेद गरे मात्र आफ्नो समूहले पाकिस्तानी सरकारसँग वार्ता गर्नसक्ने उल्लेख गरेका छन् ।
हालका दिनमा पाकिस्तानको उत्तरपश्चिमी नगर पेसावरमा वरिष्ठ प्रान्तीय राजनीतिज्ञ बसिर बिलौरको हत्याका साथै अन्य आक्रमणमा तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) संलग्न भएपछि यो समूहको उक्त भनाइ आएको हो ।
खिबर पख्तुनख्वा प्रान्तका सूचनामन्त्री इफ्तिखार हुसेनले मेहसुदको टिप्पणीलाई सावधानीपूर्वक स्वागत गरेका छन् । उनले तालिबानको वार्ताको प्रस्ताव सकारात्मक भएको बताए पनि तालिबानले हिंसा त्याग्नुपर्ने सर्त उल्लेख गरे । तालिबान र सरकारले एकअर्काविरुद्ध भएको क्षति बिर्सनुपर्ने हुसेनको भनाइ छ । हुसेनका पुत्रको लडाकुहरूले गराएको बम विस्फोटका कारण मृत्यु भएको थियो ।
आतंकवादविरुद्ध युद्धमा पाकिस्तान तथा अमेरिकाबीचको सम्बन्ध हाल बिग्रिएको छ र अमेरिकाले पाकिस्तान सरकारलाई मुलुकको उत्तरपश्चिमी भागमा संघर्ष गरिरहेका समूह नियन्त्रण गर्न अरबौँ अमेरिकी डलर सहयोग दिएको छ ।
सन् २००९ मा टिटिपीका संस्थापक बैतुल्लाह मेहसुदको अमेरिकी चालकविहीन विमानको आक्रमणबाट मृत्यु भएपछि मेहसुदले यस समूहको नेतृत्व लिएका छन् । उनले बिन लादेनको हत्याको बदला अनेकपटक लिइएको बताएका छन् ।
मसुदले प्रजातन्त्रलाई गैरइस्लामी मानेका छन् । उनले पाकिस्तानमा इस्लामी प्रणाली स्थापना गर्न चाहेको र पार्टीहरू गैरइस्लामी भएकाले कुनै पनि पार्टीलाई समर्थन नगरिने बताए ।
पाकिस्तानको उत्तरपश्चिमी भागका आमसञ्चारलाई उपलब्ध गराइएको भिडियो टेपमा तयार भएको मिति उल्लेख गरिएको छैन ।

प्रतिक्रिया