टिमुरले बजार पाएन

 

 

म्याग्दी : १३ पुस । व्यावसायिक टिमुर खेतीका लागि पकेटक्षेत्र मानिने म्याग्दीको घतानमा उत्पादित टिमुरले बजार नपाएपछि कृषक निराश भएका छन् । विगतका वर्षमा मंसिरमै टिमुर बिक्री गरिसक्ने घतान, तोरीपानी र नेप्टेचौर गाउँमा उत्पादित टिमुर अझै बिक्री हुन सकेको छैन । यसअघिका वर्षमा गाउँमै टिमुर खरिद गर्नका लागि आउने मुस्ताङी व्यापारीहरू यसपालि नआएकाले टिमुर नबिकेको स्थानीयवासीले बताएका छन् ।
घतानमा उत्पादित मसलेदार जंगली फल टिमुरको मुख्य बजार मुस्ताङ र पोखरा हो । टिमुर बिक्री गर्न सदरमुकामसम्म आए पनि नबिकेपछि गाउँमै फर्काएर लैजानुपरेको घतान नेप्टेचौरका ज्ञानबहादुर विकले बताए । जाडो छल्न बेसी झर्ने मुस्ताङीले टिमुर खरिद गरेर पोखरा, नारायणघाट, काठमाडौंलगायत ठाउँमा लगेर बिक्री गर्दथे ।
कम मुनाफा तर धेरै झन्झट हुने भएकाले उनीहरूले टिमुरको व्यापार छाडेको बताइएको छ । गत वर्ष प्रतिपाथी ५ सयमा बिक्री भएको टिमुर यो वर्ष प्रतिपाथी ३ सय रुपियाँमा समेत बिक्री नभएको उनको गुनासो छ । घतानमा ५० भन्दा बढी घरधुरीले व्यावसायिक टिमुरको खेती गरेका छन् ।
करिब ३५ मुरी टिमुर बिक्री हुन नसकेको स्थानीय कृषकसमेत रहेका मध्यम्याग्दी टिमुर सञ्जालका अध्यक्ष नारायण बानियाले बताए । कृषकले उत्पादन गरेको टिमुर एकै ठाउँमा संकलन र प्रशोधन गरेर बिक्री गर्ने सुविधा नभएकाले बजारको समस्या देखिएको उनले बताए ।
मुखमा राख्दा रमरम गर्ने स्वाद आउने बास्नादार टिमुर विशेष गरी चिसो वातावरणमा हुने र पर्यटकीय क्षेत्रमा बढी बिक्री हुने गर्छ । मधुमेह, उच्च रक्तचापलगायत रोगका बिरामीलाई टिमुर सेवनले फाइदा गर्नुका साथै शरीरलाई न्यानो बनाउने गर्छ ।
बजारमा प्रशोधन गरेको टिमुरको माग भएको तर स्थानीयस्तरमा प्रशोधन गर्ने प्रविधि नभएकाले अप्रशोधित टिमुर बिक्री हुन नसकेको घतानका कृषक गंगाबहादुर बानियाले बताए । गत वर्ष ३० हजारको टिमुर बिक्री गरेका उनले यस वर्ष उत्पादन बढे पनि एक हजार पनि आम्दानी नभएको बताए । म्याग्दी उद्योग वाणिज्य संघले गत वर्ष टिमुरलाई ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममा छनोट गरेको थियो । पहिलो वर्ष घतान र नारच्याङ गाविसलाई टिमुर खेती विस्तारका लागि छनोट गरी त्यहाँका कृषकलाई ६ हजार बिरुवा वितरण गरिएको थियो ।
यो वर्ष कृषकलाई नर्सरी स्थापना, बिरुवा वितरण, फल टिप्ने मेसिन, संकलन र प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्ने कार्यक्रमको प्रस्तावसहित ६ लाख बजेट माग गरिएकामा पूर्णबजेट नआएको कार्यक्रम प्रभावित बनेको संघका महासचिव बेलबहादुर कटुवालले बताए ।

प्रतिक्रिया