मिछो धुनषवाणमा कुमार शीर्षमै


काठमाडौं : दोस्रो ल्होसार मिछो धनुषवाण प्रतियोगिताको दोस्रो दिन बुधबार व्यक्तिगत स्पर्धामा म्याग्दी मगर समाजका कुमार पाइजाले ४ अंक थप्दै समग्रमा १७ अंक जोडेर शीर्षस्थान कब्जा गरेका छन् । उनले पहिलो दिन उत्कृष्ट निसाना लगाउँदै १३ अंक बनाएका थिए । उनलाई पछ्याएका आयोजक मनाङ–मस्र्याङ्दी क्लबका नोर्बु गुरुङ दोस्रो स्थानमा छन् । पहिलो दिन ६ अंक बनाएका उनले दोस्रो दिन दुई अंक थपेर आठ अंक बनाउँदै पाइजालाई पछयाइरहेका छन् ।
मनाङ–मस्र्याङ्दी क्लबको आयोजनामा विशाल मल्टी स्पोर्टस् मित्रनगर नयाँ बसपार्कमा सञ्चालन भएको खेलमा नोर्बुलाई उनकै क्लब मनाङ–मस्र्याङ्दीका चित्रलाल हीराचनले पछ्याएका छन् । पहिलो दिन हीराचनले ३ अंक बनाएका थिए भने दोस्रो दिन उत्कृष्ट निसानाका साथ ४ अंक थपेर कुल ७ अंक बनाए । पहिलो दिन तेस्रो स्थानमा रहेका म्यादी मगर समाजका सुभाष पाइजा भने दोस्रो दिनको खेल सकिँदा चौथो स्थानमा झरे । पहिलो दिन ४ अंक बनाएका उनले बुधबार भने एक अंक मात्र थपेका हुन् । (सौस)

प्रतिक्रिया