निर्जीवन बिमा कम्पनीको नोक्सानी पौने ९ करोड

काठमाडौं, १२ पुस । निर्जीवन बिमा कम्पनीको नोक्सानी आठ करोड ८३ लाख ९० हजार रुपियाँ रहेको छ । चालु आर्थिक वर्षको तीन महिने प्रतिवेदनले त्यस्तो नोक्सानी देखाएको हो । सो अवधिमा अन्डर–राइटिङमा धेरै खर्च गर्नुपरेका कारण नोक्सानी व्यहोर्नु परेको ती कम्पनीले बताएका छन् ।

गत वर्षको सोही अवधिमा निर्जीवन बिमा कम्पनीले ११ करोड ७३ लाख ९० हजार रुपियाँ खुद मुनाफा आर्जन गरेका थिए । हालसम्म राष्ट्रिय बिमा संस्थान, शिखर इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र एनबी इन्स्योरेन्सले अझै पनि पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।
नेपालका १७ मध्ये १३ निर्जीवन बिमा कम्पनीले अन्डर–राइटिङ नोक्सानबापत मात्र ६ करोड ६८ लाख ८० हजार रुपियाँ व्यहोरेका छन् । बिमालेखा बेचेर प्राप्त गरेको रकम, पुनर्बिमा कम्पनीबाट प्राप्त कमिसन र लगानीको प्रतिफलसमेतबाट आएको कुल रकमले कम्पनीको विविध खर्च धान्न नसक्ने अवस्था आएको हो । वित्तीय विवरण प्रकाशन गरेका निर्जीवन बिमा कम्पनीमध्ये दी ओरियन्टल इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी १३ करोड ६७ लाख २० हजार रुपियाँ खुद नोक्सान गरेका छन् । संस्थाले करिब १७ करोड ७० लाख ९० हजार रुपियाँ खुद आम्दानी गरे पनि ठूलो नोक्सानी व्यहोरेको संस्थाको वित्तीय विवरणमा उल्लेख छ । सीता एयरको दाबीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको संस्थाका एक अधिकारीले बताए । कम्पनीले सीता एयरलाई करिब १७ करोड रुपियाँ क्षतिपूर्ति दिएको थियो ।
त्यसैगरी, एभरेस्ट इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिकमा तीन करोड ५४ लख २० हजार रुपियाँ खुद नोक्सानी व्यहोरेको छ । कम्पनीको कुल आम्दानी चालु आवको पहिलो त्रैमासिकमा ४३ प्रतिशतले घटेर ५ करोड २७ लाख ७५ हजार रुपियाँ पुगेको छ । एभरेस्टले नयाँ बिमा लेख जारी नगरेका कारण प्रिमियम आम्दानीमा र्‍हास आएका कारण खुद नोक्सानी व्यहोरेको हो । त्यस्तै बिमा समितिले अग्नि बिमामा कम्पनीलाई रोक लगाएका कारण पनि कम्पनीको आम्दानीमा र्‍हास आएको हो । कम्पनी स्रोतका अनुसार कम्पनीको ५० प्रतिशतभन्दा बढी आम्दानी अग्नि बिमाबाट नै हुन्छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले दुई करोड ८० लाख २० हजार रुपियाँ खुद नोक्सानी व्यहोरेका छन् । कम्पनीको प्रिमियम आम्दानीमा करिब २५ प्रतिशतले गिरावट आएर सात करोड १० लाख ३० हजार रुपियाँ मात्र पुगेको छ । यथेष्ट कागजातविना जोखिम मूल्यांकन नगरी उधारोमा बिमालेख जारी गरेको आरोपमा कम्पनीलाई बिमा समितिले मोटर बिमा गर्नमा केही समयका लागि प्रतिबन्ध लगाएको थियो । त्यसकारण कम्पनीको खुद मुनाफामा असर परेको हो । कम्पनीको अन्डर–राइटिङ नोक्सानस्वरूप करिब तीन करोड रुपियाँ नोक्सानी व्यहोरेको थियो ।
युनाइटेड इन्स्यारेरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५२ लाख ८० हजार रुपियाँ खुद नोक्सानी व्यहोरेको छ । संस्थाले सो अवधिमा कुल प्रिमियम आम्दानीमा भने करिब २२ प्रतिशतले वृद्धि भएको जनाएको छ । चौधरी समूहको कलंकीस्थित विद्युतीय सामानको गोदाममा आगलागी हुँदा ठूलो मात्रामा क्षतिपूर्ति दिनु परेकाले नोक्सानी व्यहोर्नु परेको हो ।

प्रतिक्रिया