इजिप्टमा नयाँ संविधान लागू

कायरो : इजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सीले संविधानको नयाँ मस्यौदामा हस्ताक्षर गरेपछि त्यहाँ नयाँ संविधान लागू भएको छ । संविधानसभाले तयार पारेको संविधानको मस्यौदा स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा भएको जनमत संग्रहमा ६३ दशमलव ८० प्रतिशत मतदाताले मस्यौदका पक्षमा मत जाहेर गरेका थिए । जनमत संग्रहले नयाँ संविधान अनुमोदन गरेको घोषणा भएपछि राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेर यसलाई वैधानिकता दिलाएका हुन् ।
राष्ट्रपति मुर्सीको दल मुस्लिम ब्रदरहुड र उसका साझेदार इस्लामिक दलको दबदबा रहेको संविधानसभाले संविधानको मस्यौदा तयार पारेको हो । नयाँ संविधानले मुलुकमा राजनीतिक अस्थिरता अन्त्य गर्ने र राष्ट्रिय अर्थतन्त्रमा विद्यमान संकटलाई यसले समाधान गर्ने विश्वास राष्ट्रपति मुर्सीले व्यक्त गरे ।
तर, विपक्षी दलहरूले नयाँ संविधानप्रति असन्तुष्टि व्यक्त गरेका छन् । धर्मनिरपेक्ष अवधारणा राख्ने प्रतिपक्षी समूहले जनमत संग्रहमा धाँधली भएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी समूह ‘नेसनल सेलभेसन फ्रन्ट’ले जनमत संग्रहको दुवै चरणको निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै संविधानको विरोधमा अभियान सञ्चालन गर्ने यसअघि नै जनाइसकेको छ । नयाँ संविधानले धार्मिक अल्पसंख्यक र महिलाको अधिकार सीमित बनाउने उनीहरूको दाबी छ । (एजेन्सी)

प्रतिक्रिया