विमान दुर्घटनामा २७ को मृत्यु

अल्माअटा : कजाकिस्तानमा एक सैनिक विमान दुर्घटनाग्रस्त हुँदा २७ व्यक्तिको मृत्यु भएको छ । विमानमा सातजना चालकदलका सदस्यसहित २७ जना व्यक्ति सवार रहेको जनाइएको छ । विमानमा उच्चपदस्थ सैनिक अधिकारी पनि रहेको सरकारी अधिकारीले जनाएका छन् ।
विमान दक्षिणी कजाकिस्तानको सामकेन्ट विमानस्थलभन्दा २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । कजाकिस्तानको टेलिभिजन च्यानल केटिकेका अनुसार विमान आठ सय मिटर उचाइबाट खसेको थियो ।
खराब मौसमका कारण विमान दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरिएको छ । सुरक्षा स्रोतले इन्टरफाक्स समाचार समितिलाई दिएको जानकारीअनुसार विमानमा रहेका सबैको मृत्यु भएको छ । स्थानीय समयअनुसार मंगलबार साँझ ६:५५ बजे दुर्घटना भएको हो । (एएफपी)

प्रतिक्रिया