टयुसन जान तयार परेकी छात्राको शव

कलैया, १२ पुस । बर्दियाकी शिवा हासमीलाई जलाएर हत्या गरिएको घटना सेलाउन नपाउँदै बारामा एक किशोरीको जलेको शव फेला परेको छ । बाराको प्रस्टोका–५ निवासी रामा ठाकुरकी १६ वर्षीया छोरी बिन्दुकुमारी ठाकुरको शव बुधबार बिहान भेटिएको हो ।

आफ्नै घरनजिकैको खेतबारीमा जलाइएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । शव भेटिएको ठाउँमै बिन्दुलाई जलाएको कुनै प्रमाण नभेटिएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
स्थानीय विद्यालयको कक्षा १० मा अध्ययनरत बिन्दु टयुसन पढ्नका लागि सधैँ बिहानै उठ्ने गरेको आमा गीता ठाकुरले बताइन् । टयुसन पढ्नका लागि मुख धोएर घरनजिकैको खेतबारीमा शौच गर्न गएको केही समयपछि नै उनको शव भेटिएको हो । नेपाली सेनाबाट अवकाश प्राप्त उनका बुबा रामा ठाकुरले घरअगाडि छोरीको चप्पल मात्र रहेको र छोरीलाई जलाएर हत्या गरेको अवस्थामा देखेको बताए ।
रामाका एक छोरा र तीन छोरीमध्ये बिन्दु माहिँली हुन् । गाउँघरमा भलाद्मी छवि भएकी उनको परिवारसँग वा छरछिमेकमा कसैसित झैझगडा नरहेको स्थानीय बासिन्दा बताउँछन् । बिन्दुको हत्याको शोकमा उनी पढ्ने विद्यालय बन्द भएको छ । यसैबीच, नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ बारा, इन्सेक बारा, हिमराइट्स बारा, शान्ति तथा संक्रमणकालीन न्यायका लागि साझा सञ्जाल बारालगायत संघसंगठनले घटनाको घोर भत्र्सना गर्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया