पहिलो दिन नेपाली पुरुष खेलाडीको बर्चस्व

काठमाडौं, ११ पुस । दशरथ रंगशालास्थित कभर्ड हलमा मंगलबारदेखि सुरु भएको चेल्सी जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेका छन । यु–१७ स्पर्धामा घरेलु खेलाडी सन्तोष खड्का, सावन श्रेष्ठ, ससिन डंगोल, विजित श्रेष्ठ र तिर्थ मल्लले विजयी सुरुवात गरे ।

सन्तोषले नेपालकै निराजन देवकोटालाई २१–१८ र २१–१९ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरे । सावनले टिम निखिल एकेडेमी बंगलादेशका मन्जुर अहमद हसनलाई २१–८ र २१–१९ ले हराए । ससिनले युरोप कार्कीविरुद्ध २१–४ र २१–१४ को जित निकाले । झारखण्ड एकेडेमी भारतका जयबत्रुका मोहन्ताविरुद्ध विजित २१–१२ र २१–७ ले विजयी भए । नेपाली खेलाडीबीचको भिडन्तमा तिर्थले सनम श्रेष्ठलाई २१–१३ र २१–१६ ले हराए । सोही स्पर्धाको महिलातर्फ झारखण्ड एकेडेमीकी सौम्य दाशले नेपालकी शोभा गौचनविरुद्ध २१–१४, १६–२१ र २१–१८ ले जित हात पारिन् । यस्तै झारखण्डकै मनिष रानी तिर्कीले निरु श्रेष्ठलाई २१–९ र २१–८ ले हराइन । नेपाली खेलाडी श्रेया प्रधानले नेपालकै स्वेच्छा श्रेष्ठबाट वाकओभर पाइन् ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सञ्चालित प्रतियोगिताको यु–१५ पुरुषको एकलतर्फ रुकेश महर्जनले नेपालकै सबिन श्रेष्ठबाट वाकओभर पाए । नेपाली खेलाडी सुजन श्रेष्ठले टिम निखिल एकेडेमी बंगलादेशका तम्जीद अहमदलाई २१–७ र २१–१६ ले हराए । टिम निखिलका मोहम्मद हनिफले झारखण्डका जयबत्रुका महन्ताबाट वाकओभर पाए ।
सोही स्पर्धाको महिलातर्फ नेपाली खेलाडी जेसिका गुरुङले नेपालकै रेखा विष्टलाई २१–१०, ११–२१ र २१–९ ले हराइन् । यस्तै, झारखण्डकी सौम्य दाशविरुद्ध नेपालकी श्रद्धा प्रधान २१–७ र २१–१२ ले पराजित भइन् । मेघा चन्दले घरेलु खेलाडी स्वेच्छा श्रेष्ठबाट वाकओभर पाइन् । यु–१७ पुरुष युगलतर्फ नेपालका सुजन श्रेष्ठ र सावन श्रेष्ठको जोडीले टिम निखिल बंगलादेशका मोहम्मद सलमान खान र मन्जुर अहमदको जोडीलाई २१–१४ र २१–१८ ले हराउँदै सेमिफाइनलको यात्रा तय गर्‍यो । सुमन लिम्बू र सन्तोष खड्काको जोडीले भने बाइ पाएको छ । तीर्थ मल्ल र विजित थापाको जोडीले बंगलादेशका सयद साकेर र ताम्जीद अहमदलाई २१–१४ र २१–१० ले पराजित गर्दै सेमिफाइनलमा झारखण्डका सिवेक कुमार र जय बत्रुकाविरुद्ध भिडन्त तय गर्‍यो । सिवेक र जयले नेपालका युरोप कार्की र सनम श्रेष्ठको जोडीबाट वाकओभर पाएका हुन् ।

प्रतिक्रिया