सिंहदरबारभित्रका ध्रुवेहरू

चितवनमा ध्रुवे नामको जंगली हात्तीले आतंक मच्चायो भनेर चितवनवासी जनताले गरेको आन्दोलन अराजक भयो र ध्रुवेमाथि आक्रमण गर्न एक गाडी सेना परिचालन गरियो भन्ने समाचारले सबै सञ्चारमाध्यममा स्थान पायो । ध्रुवेको आतंकको सिकार हुने जनताको संख्या एक दर्जन भन्दा बढी भएको खुलासा पनि भयो । विचरा पशुप्राणी ध्रुवेमाथि जसरी यो राज्य खनिदै छ उसको बाँच्न पाउने हकका पक्षमा कसले बोलिदेला भनेर म गम्दैछु । मैले गम्दै गर्दा सायद ध्रुवेको मृत्युको समाचार आउन पनि सक्छ । सिंहदरबारभित्र बसेर मोज गर्न हामीले पाउनु पर्छ भनेर निमुखा जनता मराउने ध्रुवेहरू भन्दा त्यो ध्रुवे मेरो विचारमा कम दोषी छ । संख्याका हिसाबले पनि सिंहदरबारभित्रका ध्रुवेहरूले हजाराँै जनताको इहलीला समाप्त गरेका छन् । ध्रुवे त्यो हिसाबले पनि कम दोषी हो भन्ने लाग्छ । देशलाई चितवनको ध्रुवेभन्दा सिंहदरबारभित्रका ध्रुवेहरूबाट बढी खतरा छ । ध्रुवेलाई नमारिहाल्दा हुने थियो ।
प्रजातन्त्र वा लोकतन्त्रको नाममा राज्यको साधन स्रोत दुरुपयोग गर्दै राष्ट्र हाँक्न खोज्ने ध्रुवेहरूको कथित सहमतिको नाटक लाज मान्नेहरूका लागि राष्ट्रिय बेइज्जतको कुरा भएको छ । यो मुलुकलाई भड्खालोमा जाक्ने पात्रहरूलाई महामानव हुन् भनेर मान्ने र तिनको पूजा गर्नेहरूको कमी छैन । जो जसका कारण र प्रवृत्तिले यो राष्ट्र थलापर्‍यो तिनका चेला चपेटाहरूको पनि सत् बुद्धि नआउनु विडम्बना हो । राष्ट्रलाई थला पार्ने धुन्धुकारी प्रवृत्ति कम भएन झनै मौलाउँदै गएको अवस्था हो । यही समयमा आफ्ना विरुद्ध सेना परिचालन हुँने गरी ध्रुवेले आतंक किन मच्चायो होला ?
कठपुतलीको देशभित्र राजनीति गजबकै चल्छ । राज्य, जनता र ध्रुवेहरू मात्र मर्दैनन् यहाँ नेता पनि मर्छन्, निमुखा जनताको मर्नु र मारिनुको त के चर्चा गर्नु पाइला पाइलामा मारिन्छन् । मदन भण्डारी मार्नेहरू को हुन् ? राजा वीरेन्द्र मार्नेहरू को हुन् ? मिर्जा मार्नेहरू को हुन् ? जमिम मार्नेहरू को हुन् ? फैजान मार्नेहरू को हुन् ? युनिसलाई जेलमा पुगेर गोली हान्न लगाउने को हुन् ? ध्रुवे मार्न सेना खटाउनेहरूले जनतालाई भन्न पर्दैन ? मर्नेहरू को, कसको सिद्धान्तका अनुयायी थिए र के गर्दै थिए त्यो हामीले जान्ने विषय होइन ।
जसको कोही छैन ती विचराहरू किन मारिए र कसले मार्‍यो ? खोज्नुको कुनै अर्थ छैन । ध्रुवेको चिन्ता गर्नु बेकार हो भन्न सकिन्छ । तर, राज्य ध्रुवे मार्न सानका साथ अगाडि बढ्छ । आफू बाँच्न किन सक्दैन र आफ्नो दुनियाँ बचाउन किन सक्दैन ? जसका बलबुता र नेतृत्वमा यो राज्य निर्माण भयो उनीहरूले निर्माण गरेको तत्कालीन शाही नेपाली सेनाले राजा वीरेन्द्रको सुरक्षा गर्न किन सकेन ? आफ्नो दायित्वबाट सहजै पन्छिनेहरूलाई जिम्मेवार मान्न सकिँदैन । प्रचण्डको दादागिरीबाट उत्पन्न कट्वालकाण्डले निम्ताएको सेनाभित्रको विवादमा विदेशीको चलखेल स्वाधीन राष्ट्र्रका लागि डरलाग्दो थियो । हाम्रो देशको प्रगति र उन्नतीका निम्ति हामीले राजनीति गर्दैछौँ वा देश मार्दैछौँ ? के हो हाम्रो राष्ट्रप्रतिको आफ्नो दायित्व यसको हेक्का कतिलाई छ ? होसियारी गरौँ डरलाग्दा हर्कत भएका छन् देशभित्र ।
आफू उल्टो गतिमा हिड्नेले देशलाई सुल्टो मार्गमा लैजाला भन्ने सोच्नु मूर्खता मात्र हो । लोकतन्त्रलाई माध्यम बनाएर देशलाई बलियो बनाउनुको सट्टा सिक्किमीकरण गर्दै लैजाने तत्त्व र व्यक्तिहरूले देशभक्तको दिमाग चाटिरहेका छन् । देश बर्बाद भयो भन्नेहरूले पत्रिकाका पानामा आफ्ना दु:ख पोखेर बाँच्नु पर्ने अवस्था छ । जसका कारण देश बर्बाद भयो र राष्ट्रको अस्तित्व नै संकटमा पर्‍यो उनीहरूको अधीनमा रहेर बाँच्नु पर्दा उकुसमुकुस भएको छ । धर्मविनाको राज्य र नैतिकता विनाको राजनीतिक नेतृत्व कतिबेला सकिन्छ कसैले भन्न सकिँदैन । हाम्रो राष्ट्र र दलका ठालुहरूको अवस्था ठिक त्यही हो ।
राष्ट्रियता र स्वाधीनताका चर्का नारा उराल्नेहरू सीमापारिबाट परिचालित भएको तथ्य खुलिसक्यो । मानिस देशका पक्षमा उभिन किन डराउदै छन् ? पूर्वराजा ज्ञानेन्द्र शाह हाम्रा पुर्खाले आर्जेको मुलुक हो भन्दै हिड्छन् । उनले पनि भित्री कुरा के हो जनतालाई किन भन्दैनन् ? कसैले हप्काउँदैमा श्रीपेच फुकालेर आफ्नो दायित्वबाट सहज रूपमा पन्छिने राजालाई राष्ट्रवादी हुन् भनेर काँध थाप्नेहरूले आफ्नो राजनीतिक योग्यता र क्षमता के हो आफँै जाँच्नु पर्छ । आफ्नै देशका जनताको तागतमा अडिन नसक्ने निर्धाहरू र तिनलाई काँधमा बोक्ने कारिन्दाहरूलाई सबै आफूजस्तै मानसिक अपांग छन् भन्ने लाग्दो हो । यो देश कसरी निर्माण भयो आजको युवा पुस्ताले अध्ययन गरेको छैन । आफ्नो भोक तिर्खा मेटाउन राजनीतिमा लाग्ने होइन । राजनीति त देश र जनताको उत्थान गर्नका लागि गर्ने हो । राज्यको सबै क्षेत्रमा लथालिंग अवस्था छ । राज्यमा स्थायी र वैधानिक शक्ति भनेको नेपाली सेना मात्र बाँकी छ । सेनाका जर्साबहरू देश जोगाउन होइन, आफ्नो जागिर जोगाउन नेताका घरमा चाकडी गर्न थालेपछि अब के नै बाँकी रह्यो र ?
हरेक क्षेत्रमा नेपालीको आफ्नो पकड छैन । सेना, निजामति कर्मचारी, प्रहरी, राजनीति कतै पनि छैन । अनि, हामीले चलाउने आफ्नो के हो त ? जीवन मात्र त कुकुरको पनि चल्छ । धुरन्धर राजनीतिक शास्त्रका विद्वान्हरू कुन दुलामा बसेर के सोच्दैछन् ? देश बाँचेन भने यिनको ज्ञान कसको देश र समाजमा काम लाग्छ ? माओवादी हिंसाका नायकहरू राज्यले १० वर्षसम्म खोज्दा भेट्टाउन सकेन । बाह्रबँुदे सहमति गर्दा भारतीयहरूले कति सजिलै फेला पारे । त्यो नौटंकी नेपालको रक्षा गर्न रचिएको हो र ?
प्रजातान्त्रिक शासन व्यवस्थालाई आत्मसाथ गरेको राजसंस्थालाई निरंकुशताको मार्गमा हिडाउन राजा ज्ञानेन्द्र शाहलाई कसले उक्सायो ? प्रजातन्त्रलाई आफ्नो प्राण भन्ने संसदवादीहरूलाई रातारात गणतन्त्रवादी बनाउन कसले बल पुर्‍यायो ? जनजीविकाका बलिया मुद्दा उठान गरेर मानव दुनियाँका भाग्यविधाता हामी हौँ भन्ने क्रान्तिकारीहरूलाई भोगवादी समाजमा हुलेर जिउँदै सहिद कसले बनायो ?
विदेशीको दादागिरी चल्ने नेपालीले शिर निहुराउनुपर्ने लोकतन्त्रका पक्षमा लाग्नु हँुदैन । निमुखा जनतालाई भ्रममा पारेर देश मार्ने अपराध गर्न सकिँदैन । देश त बचाउनै पर्छ । भारतीयहरू अंग्रेजको दासत्वमा बाँचिरहेका बेला त्यतिबेलाका हाम्रा राजनेताहरूले उनीहरूलाई सहयोग गरेको इतिहास साक्षी छ । भारतीयहरू आज हाम्रा शिरमा टेक्न खोज्दै छन् । दासहरूसँग सभ्यता नहुनु भनेको अनौठो कुरा होइन ।
आफ्नै दाजुभाइका बीचमा शून्य उपलब्धिको हिंसा र प्रतिहिंसा मच्चाउनेहरूले प्रजातन्त्रवादीको खोल ओडे पनि तिनीहरू राज्यले पुर्पक्ष गर्न नसकेका बलिया अपराधि नै हुन् । अब मृतक र बेपत्ता नागरिक खोज्न अलमल गरियो भने देश हराउने खतरा छ । आ–आफ्ना डम्फु बजाउने र आ–आफ्नै तालमा नाच्ने प्रवृत्तिका समूहले मुलुक हाक्ने नैतिक हक राख्न सक्दैनन् । हाम्रो देश भताभुंग भएको देखेर विदेशीहरू र तिनका पृष्ठपोषकहरूलाई मजा आएको होला । लेन्डुप दोर्जेको सम्झना आउने गरी शासकहरू यो राष्ट्रको अस्तित्व धरापमा राखेर बाँचिरहेका छन् । तर, यस्ता ध्रुवेले आफू मर्नुपर्ने अवस्था आएको चाल पाएका छैनन् ।

प्रतिक्रिया