एक करोड मोबाइलको जिम्मा हुवावेलाई

काठमाडौं : नेपाल टेलिकमले एक करोड लाइन क्षमताको जिएसएम मोबाइल सेवा विस्तार परियोजना चिनियाँ कम्पनी हुवावेलाई दिने तयारी गरेको छ । प्रतिस्पर्धामार्फत हुवावेले सबै काम पाउन लागेको हो ।
यसअघि परियोजनाको जिम्मा पाएका दुई कम्पनीले हात झिकेपछि हुवावेले सबै काम पाउने निश्चित भएको छ । टेलिकमको प्याकेज ए–अन्तर्गतको ५२ लाख लाइन विस्तारको काम चिनियाँ कम्पनी जेडटई र ४८ लाख लाइन विस्तारको काम युरोपेली कम्पनी इरिक्सनले पाएका थिए । टेलिकमले सेवा विस्तार सम्झौतामा हस्ताक्षर गर्न हुवावेलाई बोलाइसकेको छ । १५ दिनमा सम्झौताका लागि आउन हुवावेलाई पत्राचार गरिएको कम्पनीले जनाएको छ ।
टेलिकमले मोबाइल बजारमा एक नम्बरको सेवा प्रदायक बन्नका लागि एक करोड मोबाइल लाइन विस्तारको योजना ल्याएको थियो । टेलिकमको जिएसएम मोबाइलको माग धेरै भए पनि प्राविधिक कारणले टेलिकमले त्यसको आपूर्ति गर्न सकिरहेको छैन । टेलिकमले विस्तार गर्न लागेको एक करोड लाइनमा टुजी ५० लाख लाइन र थ्रिजी ४५ लाख लाइन हुने बताइएको छ । पछिल्लो प्रविधि फोरजीमा समेत पाँच लाख लाइन वितरण गर्ने योजना टेलिकमको छ । योजनाअनुसार सन् ०१५ सम्ममा टेलिकमले एक करोड नयाँ जिएसएम मोबाइल प्रयोगकर्ता थप्नेछ । यसका लागि कम्पनीले १५ अर्ब रुपियाँभन्दा बढी लगानी गर्नुपर्ने छ । टेलिकमले मागेको अन्तर्राष्ट्रिय बोलपत्रमा तीन कम्पनीले जिएसएम लाइन विस्तारका लागि टेन्डर भरेका थिए । त्यसमध्ये हुवावे र जेडटिईको दर कम थियो । (सौस)

प्रतिक्रिया