भेटिएन प्रधानमन्त्री

काठमाडौं, ८ पुस । देशमा नयाँ प्रधानमन्त्रीको खोजी अत्यन्त जटिल बन्दै गएको छ । राष्ट्रपति डा. रामवरण यादवले नयाँ सरकारका लागि आह्वान गरेको एक महिना बित्यो तर दलहरूबीच सहमतिको छाँटकाँट देखिएको छैन । पाँचौँचोटि दिएको म्याद शनिबार सकिँदा पनि दलहरू रित्तो हात छन् ।

गत ८ मंसिरमा राष्ट्रपति डा. यादवले सहमतिको सरकार गठनका लागि आह्वान गरेयता पाँचौँपटक थपेको म्याद शनिबार सकिएको हो । दलहरू निकासबारे अनौपचारिक रूपमा सहमतिमा पुगेको भनिए पनि ठोस प्रगति केही भएको छैन । प्रधानमन्त्री भट्टराईले तत्काल सरकार नछाड्ने अडान लिएपछि उनीहरू अन्योलमा परेका छन् ।
शनिबार बसेको एमाओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा प्रचण्डलाई कि कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने भन्नेमा चर्को बहस भएको थियो । प्रधानमन्त्री पक्षधरले कांग्रेसलाई भन्दा पार्टी अध्यक्षलाई नै प्रधानमन्त्री बनाउनु उपयुक्त हुने धारणा राखेका थिए । तर, अध्यक्ष प्रचण्डपक्षधर भने वैशाखमा चुनाव र संघीयताप्रति प्रतिबद्धता जनाएपछि कांग्रेस सभापति कोइरालालाई नै प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा देखिए । प्रधानमन्त्री भट्टराईले शुक्रबार आफूले छाड्नै परे प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
तर, पार्टीमा दुई पक्षबीच मत बाझिएपछि शनिबार एक होटलमा बसेको बैठकले पार्टीमा देखिएको विवाद मिलाउने जिम्मा चारजना पदाधिकारीलाई दियो । एमाओवादीको बैठकले वैशाखमै चुनाव र संविधानका संघीयतासहितका विषयमा सहमति खोज्ने जिम्मा अध्यक्ष दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटीलाई दिएको हो । सहमतिप्रति एमाओवादीबाट दुईथरी अलग धारणा आउन थालेपछि कांग्रेस र एमालेका नेताहरूले पार्टीको तर्फबाट एउटै धारणा लिएर आउन एमाओवादी अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । अध्यक्ष दाहालले सहमतिबारे पार्टीको एउटै र ठोस धारणा तय गर्न शुक्रबार राज्यसमितिका इन्चार्जसहित पदाधिकारीहरूको विस्तारित बैठक राखेका हुन् ।
अध्यक्ष दाहालले तीन दलका शीर्ष नेताहरूसँग भएको सहमतिअनुरूप प्रधानमन्त्री भट्टराईलाई सहमत गराउन सके वा भट्टराईको असहमतिका बाबजुद पनि सहमति कार्यान्वयनमा अग्रसरता देखाए भने कांग्रेस सभापति कोइराला प्रधानमन्त्री बन्ने र आगामी वैशाखका लागि नयाँ चुनाव घोषणा हुनेछ ।
‘निकासका विषयमा दलहरूबीच लगभग सहमति भइसकेको छ,’ एमाले अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने, ‘कार्यान्वयनमा माओवादीको विवाद बाधक देखिएको छ, मुलुकले निकास पाउने वा नपाउने विषय माओवादीको निर्णयमा भर पर्छ ।’
प्रधानमन्त्री भट्टराई पार्टीले सरकार छाड्ने संस्थागत निर्णय नै नगरेकाले पार्टी निर्णय र सत्तारूढ मधेसी मोर्चाको सहमतिविना सरकार नछाड्ने उद्घोष गरिरहेका छन् । सत्तारूढ मोर्चाको बैठकमा भट्टराईले दाहाललाई आफूविरुद्ध षड्यन्त्र गरेर पदलोलुप सावित गर्न खोजेको आरोप लगाएका थिए । सत्तारूढ एमाओवादीले शनिबार पनि कुनै निर्णय लिन नसकेपछि राष्ट्रपतिले पाँचौँपटक दिएको समय पनि त्यसै सकिएको छ । दलहरू पुन: राष्ट्रपतिबाट समय थप हुने अपेक्षामा ढुक्कसँग बसेका छन् ।
बिहीबार साँझ राष्ट्रपतिलाई भेट्न पुगेका नेताहरूले राष्ट्रपतिको भारत भ्रमणअगावै निकास दिने वचन दिएर फर्केका थिए । शनिबारसम्म पनि सहमति नभए के गर्ने भन्ने विषयमा राष्ट्रपति मौन छन् । स्रोतका अनुसार राष्ट्रपति यादव विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई आइतबार बोलाएर विकल्पबारे छलफल गर्ने तयारीमा छन् ।
दलहरूले पाँचौँपटकको समय सकिने अन्तिम समयसम्म पनि राष्ट्रपतिलाई कुनै जानकारी नगराएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । ‘दलहरूले म्याद सकिएकोबारे बेलुकासम्म केही जानकारी गराएका छैनन्,’ दाहालले सौर्यसँग भने, ‘आइतबार वा सोमबार संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाउनेबारे राष्ट्रपति कार्यालयले आइतबार नै निर्णय लिन्छ ।’
दलहरूले तत्काल भारत नजान आग्रह गरे पनि पहिल्यै तय भइसकेको भ्रमण नरोकिने पनि दाहालले प्रस्ट पारे । ‘यो पहिल्यै तय भएको भ्रमण हो । देश ५/६ वर्षदेखि संक्रमणमा छ,’ उनले भने, ‘राष्ट्रपतिको भारत भ्रमण रोकिँदैन ।’

प्रतिक्रिया