“म प्रत्येक बिहान नेपाल फर्किन्छु”

नेपाली कथासाहित्यका महत्त्वपूर्ण हस्ताक्षर राजवले वाणिज्य बैंकको स्थायी जागिर छोडेर अमेरिका जाँदा काठमाडौंमा ठूलै हल्ला मच्चियो । अमेरिका भासिनु धेरैका लागि बाध्यता हो, धेरैका लागि अवसरको खोजी त धेरैका लागि संघर्षको बेग्लै आयाम हो । खाडीको रेमिट्यान्सले धानेको हाम्रो देशका नागरिकको परिचय विदेशी भूमिमा खालि कुल्ली र दरवानको छ । त्यसकारण सक्षम र प्रतिभावान् मानिस विदेश भासिँदा केही कुरा चल्नु सामान्य मान्न सकिन्छ तर त्यस्ता मानिस विदेश गएर नेपाल र नेपालीको परिचयको आयामलाई फेर्न सके भने त्यो रामै्र हो । भनिन्छ, अमेरिका सपनाको भूमि हो । समृद्ध जीवनपद्धति, पर्याप्त अवसर, चरम विकास, खुला समाज छ त्यहाँ । विकसित देशका मानिससमेत अमेरिकामा आफ्ना सपना साकार पार्ने अवसर खोज्न लालायित छन् भने तेस्रो विश्वका मानिसका त के कुरा र † त्यसमा राजवलाई अपवाद मान्नुपर्ने आवश्यकता छैन ।

पृष्ठ ७ बाट क्रमश:
दश वर्षअघि डिभी लिएर अमेरिका पुगेका राजव यतिखेर नेपालमा छन् । स्टाच्यु अफ लिबर्टीमुनि उभिएर धेरैपटक स्वदेशी धरहरा र घण्टाघरको प्रतिविम्ब सम्झँदै न्यास्रिए होलान् । अहिले मौका पाएका छन्, तिनै घण्टाघर र धरहरालाई आत्मियतापूर्वक सुमसुम्याउन । पीपलबोटको छहारीमा बसेर अमेरिका बसाइका उपलब्धिहरू समीक्षा गर्दै छन्, दौँतरीहरूका साथ । कथा र उपन्यासका पात्र सम्भँmदै छन् । काठमाडौंका घाम नछिर्ने ओसिला गल्लीहरूमा हिँड्दै छन् । अमेरिकाका फराकिला सडकहरू कारमा हुँइकिरहेको बानी यहाँको साँघुरा अनि अस्तब्यस्त गल्लीहरूमा कसरी एडप्ट गर्छन् होला उनी । सायद केही प्रिय नै लाग्दो हो, जन्मेको माटोको प्राचीन गन्ध ।
प्राय: सबै वामपन्थी विचारधारा बोकेकाहरूको पहिलो र नित्य कर्म नै हो अमेरिकाको विरोध गर्नु । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कुरा नगरी राष्ट्रवादी कम्युनिस्ट नबन्ने खतरा देख्ने यहाँको पुरानो मनोरोग नै हो । तर, वामपन्थी विचारधारा नै आफ्नो साहित्यको मूल मर्म बनाएका राजवले कसरी अँगाल्न सके होलान् त्यही अमेरिकी साम्राज्यको मानो ? उनी भन्छन्, ‘वामपन्थ पनि एउटा पाखण्ड हो धेरैका लागि । विरोध गर्ने तर पाएसम्मको सुविधा भोग्ने परम्परा पाखण्ड हो ।’ थप प्रस्ट्याउँछन्– ‘मैले अमेरिका गएर मेरो विचार, दर्शन अनि परिवेशलाई बेचेको छैन । संघर्ष मेरा लागि यहाँ पनि उस्तै थियो उता पनि उस्तै हो । नयाँ ठाउँ घुम्ने र नयाँ भूगोल टेक्ने अवसरका रूपमा म अमेरिका गएको हुँ । मेरा कथाका पात्रहरू यहॉ पनि शोषित–पीडित नै थिए, त्यहाँ पनि त्यस्तै छन् । त्यसैले विरोधका लागि विरोध गर्नु आवश्यक छैन ।’
नेपालको एउटा सम्मानित कथाकार, एउटा राम्रो अवसर पाएका मानिसले अमेरिका गएर विभिन्न किसिमका काम गरे । होटेलमा काम गरे । वित्तीय संस्थाहरूमा काम गरे । कामका लागि संघर्ष जस्तोसुकै मानिसका लागि पनि उस्तै हुन्छ त्यहाँ । अहिले एउटा मोटेलका प्रबन्धकका रूपमा काम गरिरहेका उनलाई कहिले पनि बेकारमा नेपाल छोडिएछ जस्तो लागेन । तर धेरैपटक भावुक बनेका छन् । उनकै शब्दमा भन्दा उनले नेपाल कहिले छोडेकै छैनन् । उनी नेपालका बारेमा सोचिरहन्छन् । फेसबुकमा नेपालीहरूसँग गफिइरहेका हुन्छन् । बेलाबेलामा नेपाल आइरहन्छन् । नेपालीकै कथा लेखिरहेका हुन्छन् । तर सामान्य अमेरिकीहरूलाई नेपाल भन्ने देश नै थाहा छैन । उनी भन्छन्– ‘उनीहरूलाई भारत र चीनको बीचको देश भनेर चिनाउनुपर्छ । उनीहरू न त बुद्ध चिन्छन् न सगरमाथा ।’
दश वर्ष लामो अवधिमा नेपाली समाज र अमेरिकी समाजमा कस्ता परिवर्तन भए होलान् ? जो कोहीको मनमा प्रश्न उठ्छ । ‘नेपाल राजनीतिक रूपले अत्यधिक छटपटिएको बेलामा राजनीतिक रूपले अमेरिकामा केही परिवर्तन भएन । स्थायी राजनीतिको सुन्दरता यही हो । जर्ज डब्लु बुस गए, बाराक ओबामा सत्तामा आए, त्यत्ति हो । विदेशनीति र आन्तरिक सरकारी नीतिमा केही भिन्नता भए पनि सतहमा एउटै कुरा हो’, उनले सुनाए । राणाशासन, पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि नेपालीहरूको सपना एउटै छ– राजनीतिक स्थायित्व र विकास । अमेरिकी समाज र नेपाली समाजका बारेमा उनले बताइरहँदा आफ्ना पुर्खादेखिको संघर्ष र बलिदानका कथा सम्झन मन लाग्छ । अमेरिकी र नेपाली समाजमा तुलनै गर्न नसकिने किसिमका भिन्नता छन्, जीवनयापन, चेतनास्तर र विकासका दृष्टिले । तर दुवै समाजको एउटा विशेषता साझा छ र त्यो हो– मानिसहरूको संघर्ष । दश वर्षमा अमेरिकाभित्र देखिएका विभिन्न परिवर्तन हेरे उनले । आतंकवादको चपेटामा परेको अमेरिकादेखि युद्धरत अमेरिकासम्म अनि त्यो युद्धको समग्र प्रभाव पनि देखँे । त्यसले आम अमेरिकीहरूमा ल्याएको मानसिक उद्वेलन देखेँ । त्यसले आफूभित्र पैदा गरेको उद्वेलन पनि भोगँे र त्यसलाई आफ्ना आख्यानमा उतारँे । भन्छन्– ‘अमेरिकामा दश वर्ष अवलोकन गर्दागर्दै बितेछन् । आफ्नै मनभित्र गरिएका डिस्कोर्सहरूको प्रतिविम्ब अहिले मेरा रचनामा भेटिन्छ ।’
अमेरिकाका सुन्दर पक्षहरूका बारेमा राजव भन्छन्– ‘अमेरिकाको सबैभन्दा सुन्दर पक्ष नियममा बाँधिएको समाज हो । कोही पनि मानिस भोको बस्नु पर्दैन । अध्ययनको राम्रो अवसर छ । स्थायी राजनीति छ । स्वतन्त्रता छ । योग्य र दक्ष मानिसका निम्ति प्रशस्त अवसर छन् । जीवनस्तर उम्दा छ । वातावरण धेरै राम्रो छ । अमेरिका वास्तवमै सुन्दर छ बस्नका लागि ।’ उनी आफ्ना तर्कलाई पुष्टि गर्छन्, नोम चोम्स्कीको नाम दोहोर्‍याएर । नोम चोम्स्कीजस्ता अमेरिकी नीतिका घोर बिरोधी र तेस्रो विश्वका पक्षधरले समेत अमेरिकालाई संसारको सबैभन्दा बस्न लायक ठाउँ भनेको प्रसंग उनी सुनाउँछन् । तर, अमेरिका यति धेरै सुन्दरताबीच धेरै कुरुपता पनि लिएर बसेको छ । त्यहाँका असुन्दर पक्षहरूका बारेमा उनी भन्छन्– ‘समाजलाई बाँध्ने कसीहरू खुकुलिँदै छन् । छिटोछिटो सम्बन्ध बिच्छेद गर्छन् । सेक्स पार्टनरहरू फेरिरहन्छन् । सेक्सलाई हेर्ने दृष्टिकोण धेरै नै फरक छ । हतियार राख्नलाई छुट छ, जसकारण धेरै मानिसले ज्यान गुमाइरहेका छन् । मानिस यन्त्रजस्ता भएका छन् । तल्लो वर्गका मानिस मा काम नगर्ने, आवारा भएर हिंड्ने प्रचलन छ । प्रजातन्त्र भएर पनि प्रजातन्त्र छैन । समवेदना हराउँदै गएको छ । प्रबुद्ध वर्गहरूप्रतिको आदरभाव पनि छैन, बिशेष गरी तल्लो बर्गका मानिसहरूप्रति ।’
‘अमेरिकामा कम्युनिस्ट भनेर चिनिनु भने खतरनाक हुन सक्छ । निकै चर्को घृणा खप्नुपर्छ कम्युनिस्टहरूले’, कम्युनिस्टका बारेमा सोध्दा राजव भन्छन्– ‘सार्‍है नै थोरै छन् कम्युनिष्टहरू, कहिलेकाहीँ सेमिनार गर्छन् । बिचारविमर्श पनि हुन्छ तर कोही खुलेर कम्युनिष्ट भएर चिनिन सक्दैनन् । अमेरिकाको प्रजातन्त्रको सबैभन्दा खराब पक्ष हो यो । एनजिओजसरी चल्छन् कम्युनिस्ट पार्टीहरू ।’ कम्युनिस्टहरू गरिब र अल्पविकसित देशमा मात्रै हुन्छन् जस्तो लाग्यो उनका कुरा सुन्दा । वास्तवमा विकास गर्नलाई कम्युनिस्ट नै चाहिन्छ भन्ने नेपालका कम्युनिस्ट पार्टीहरूको गुरुमन्त्र त्यहाँ काम नलाग्ने रहेछ । उनका कुरा सुनिरहँदा एक जना नेपाली वाम विश्लेषकले एउटा टेलिभिजन अन्तर्वार्तामा भनेको कुरा सम्झना हुन्छ– ‘जबसम्म नेपालमा गरिबी रहन्छ तबसम्म कम्युनिस्ट रहन्छन् र जबसम्म कम्युनिस्ट रहन्छन् तबसम्म गरिबी रहन्छ ।’ राजव भन्छन्– ‘अमेरिकी कम्युनिस्टहरू निकै उच्च जीवनयापन गर्ने सोफेस्टिकेटेड किसिमका हुन्छन् । वास्तवमा तेस्रो विश्वको वर्ग र त्यहाँको बर्गीय समाजमा धेरै नै भिन्नता छ । तेस्रो विश्वका मानिस जसरी त्यहाँका मानिस कम्युनिस्टबाट प्रभावित हु‘दैनन् । अमेरिकीहरू कम्युनिष्टलाई घृणा गर्छन् तर त्यहॉ अघोषित कम्युनिज्म छ ।’
खुइलिएको चिल्लो तालु र सेतै भएका केशले पनि उनको काम र संघर्ष गर्ने चेतनालाई गलाएको रहेनछ । झन् पो फुर्तिला बन्छन् । सायद अमेरिकाको सबैभन्दा सुन्दरता नै यही होला । तेस्रो विश्वका घाम तापेर दिन बिताउने उमेरका मानिसहरू पनि जवान हुन्छन् अमेरिकामा । त्यही उत्पादनशक्तिले नै सायद आफूलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउन सकेको होला अमेरिकाले । नेपालमा रिटायर्ड भएको मानिस अमेरिका गएर संघर्ष गर्दा झनै जवान भएको महसुस गर्छन् उनी । नेपाली परिवेश र नेपाली जीवनको दुरुहता भोगेका उनले संसारकै सबैभन्दा शक्तिशाली र विकसित देशको परिवेशमा पनि जीवनको क्रूरता एउटै देखेका छन् । जीवनको दुरुहता नेपाल र अमेरिकामा उस्तै छ । तल्लो बर्गका मानिसहरूमाथि हुने शोषण र पीडा एउटै देख्छन् उनी । थुप्रै अमेरिकी साहित्यकार भेटेका उनी नेपाली साहित्य पनि विश्वस्तरकै देख्छन् । नेपाली कविता र कथा त अझै अब्बल ठान्छन् उनी । उपन्यासमा भने नेपाली उपन्यास कमजोर नै छन् । साह्रै उच्च स्तरको र आधिकारिक अनुवाद गर्ने हो भने नेपाली साहित्यले अमेरिकीहरूलाई आकर्षित गर्न सक्ने तर्क गर्छन् उनी । अमेरिकीहरू सधैँ नयाँ कुराको खोजीमा रहेका हुन्छन् । सम्राट उपाध्याय, मन्जुश्री थापा, झुम्पा लाहिरीको उदाहरण दिन्छन् उनी ।
‘प्रत्येक बिहान नेपाल फर्कन्छु म’, उनी भन्छन् । एउटा नयाँ उपन्यासमा काम गरिरहेका छन् उनी । ‘नाम जुरिसकेको छैन तर छिटै नै बजारमा आउँछ होला’, योजना सुनाउँछन् । छोटो भेटमा अमेरिकाको प्रशंसामा राम्रै समय लिएका राजवलाई अमेरिका बसाइ निकै नै उपलब्धिमूलक बनेछ । चम्किलो अनुहारले त्यसै भन्छ । सायद नोमचोम्स्कीले ठीकै भने– अमेरिका संसारकै सबैभन्दा बस्नयोग्य ठाउँ हो ।

प्रतिक्रिया