डान्सबारमा सञ्चालकद्वारा शोषण

काठमाडौं, ३ पुस । रातका रानी भनिने काठमाडौंका डान्स बारका सुन्दरीहरू पछिल्लो समय बार सञ्चालकबाटै शोषित हुन थालेका छन् । बारको सुरक्षाका बहानामा आउने गरेका प्रहरीको सहयोगमा सञ्चालकले काम गर्नेमाथि अनैतिक व्यवहार गर्दै आएको बार पीडितहरूले बताए ।

सुन्धारा क्षेत्रमा रहेका झरना, सरप्राइज, माइतीघरको ब्ल्याक सी, बागबजारको टकस्वगर्लर, बानेश्वरका टण्डन बारका सञ्चालकले त्यस क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीको सहयोगमै अनैतिक काम गर्ने गरेको उनीहरूले बताए । सरप्राइजमा कार्यरत मनीषा (नाम परिवर्तन) का अनुसार बार सञ्चालक बाबु घिसिङले पिट्ने, तथानाम शब्द बोल्ने, अर्धनग्न नृत्यका लागि जबर्जस्ती गर्ने र यौनशोषण गर्ने गरेका छन् । उनले आफूहरू पीडामा परेको र कारबाही प्रक्रिया अघि बढाउन प्रहरीमा उजुरीका लागि जाँदा पैसा वा शरीर माग्ने गरेको गुनासो गरिन् ।
‘रोजगारीका लागि डान्स बारमा काम गरेका हौँ,’ उनले भनिन्, ‘सञ्चालकले कामदार कर्मचारीमाथि गरेको मनोमानीलाई प्रहरीको प्रोत्साहन मिलेपछि बढी शोषण भएको छ ।’ ‘पटक–पटक प्रहरीमा गयौँ तर कुनै सुनुवाइ भएन,’ मनीषाले भनिन्, ‘प्रहरीलाई भन्न जाँदा फर्केर आउँदा उल्टै साहुलाई कुरा प्रहरीले नै लगाइसकेको हुन्छ र बढी शोषण हुन्छ ।’
झरनाका सञ्चालक पूर्ण गुरुङ, टपस्वगर्लमा सञ्चालक रोज राणाका भान्जा हुन् भने ब्ल्याक सीका गौरव रहेको बारमा कार्यरत र शोषण सहन नसकेर बाहिरिएका पीडितले गुनासो गरे ।
उनीहरूले शोषणमा परेर काम छाडे पनि आफूहरू बस्ने कोठामा केटा पठाएर जबर्जस्ती उठाएर ल्याउने गरेको सौर्यसँग बताए । ग्रामीण भेगबाट काठमाडौं आएका उनीहरूको छाती हेरेर मात्रै बारमा कामका लागि राख्ने गरिएको छ । सामान्यतया १३ देखि ३० वर्ष उमेर समूहका युवतीलाई सञ्चालकले रुचाउने गरेका छन् । काममा राखेपछि सञ्चालक वा उसका साथीसँग यौन प्यास मेटाउन नगएमा पारिश्रमिक नदिने, ग्राहकका अगाडि आमाचकारी गाली गर्ने र फोन गरेर ग्राहकलाई बोलाउन लगाउने गरेको झरनामा काम गरेर छाडेकी रमा (नाम परिवर्तन) ले बताइन् ।
बारमै कार्यरत सोनु (नाम परिर्वतन) ले भनिन्, ‘सञ्चालकले आफ्ना साथी आउँदा सँगै बस्न लगाउने र जबर्जस्ती विभिन्न यौनजन्य क्रियाकलाप गर्न दबाब दिने गरेको उनीहरूको गुनासो छ । विभिन्न घटनालाई लुकाउन सुन्धाराका डान्सबारले विशाल बजारको जनसेवा, बानेश्वरका डान्सबारले तीनकुनेको प्रहरी तथा टपस्वगर्लले दरबारमार्गको प्रहरीलाई मासिक किस्ता बुझाउने गरेका छन् । सुन्धाराको सरप्राइजले मात्रै जनसेवालाई केही अघि मात्र खसी र रक्सी उपहार दिएको पीडितले बताए । घटनाबारे आफूलाई कुनै जानकारी नभएको सरप्राइजका सञ्चालक बाबु घिसिङले बताए । उनी आफूले लगानी मात्रै गरेको भन्दै पन्छिए । ‘आफ्नो नाममा अरू कसैले त्यस्तो व्यवहार गरेको हुन सक्छ,’ उनले भने, ‘युवतीलाई नाच्ने काममा मात्र लगाइएको छ ।’ ह्याङला गजल रेस्टुरेन्ट बन्द भएपछि घिसिङ अधिकांश समय डान्स रेस्टुरेन्टमा बस्ने गरेका छन् ।
घटनाबारे आफूलाई कुनै जानकारी नआएको एसएसपी जयबहादुर चन्दले बताए । महिला हिंसासँग जोडिएका वा कुनै अपराधका घटनाको जानकारी प्रहरीमा आए आफू तत्काल कारबाही प्रक्रियामा जाने उनले बताए । प्रहरीसँग मुछिएका अन्य घटनाको छानबिन प्रक्रिया अघि बढाउने एसएसपी चन्दले बताए ।

प्रतिक्रिया