नेप्सले ५ सय नाघ्यो

काठमाडौं, २ पुस । चालु आवमा सेयर बजार मापक नेप्से परिसूचक दोस्रोपटक पाँच सय अंकको सीमा पार गरेको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार बन्ने समाचार बाहिर आउन थालेपछि पुन: सेयर बजारले आइतबार पाँच सय अंकको सीमा पार गरेको हो । नेपालको बंैकिङ क्षेत्रको हालसम्मकै ठूलो सिभिल बैंकको प्राथमिक सेयर निष्काशनको कारण गत हप्ता केही अंक गिरावट भए पनि आइतबार नेप्से परिसूचक १२ दशमलव ११ विन्दुले बढेर पाँच सय ९ दशमलव शून्य ३ विन्दुमा पुगेको हो । दुई साताअघि पनि नेप्से एक दिनका लागि पाँच सय अंकमाथि पुगेर बन्द भएको थियो ।

‘प्रमुख राजनीतिक सहमति होला भनेर नै सेयर बजार बढेको हो,’ सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले भने । तुलनात्मक रूपमा नेपाली कांग्रेस सरकारमा रहँदा लगानीकर्ता सेयरबजारप्रति विश्वस्त हुने गरेका छन् । ‘सुशील कोइरालाको नेतृत्वमा सरकार बन्ने हल्लाले बजार एकै दिन दोहोरो अंकले बढेको हुनुपर्छ,’ उनले भने ।
बैंक तथा वित्तीय संस्थासँग यथेष्ट तरलता थुप्रिएपछि तिनीहरूले पनि सहज रूपमा सेयर कर्जा प्रवाह गर्न थालेका छन् । एक सेयर लगानीकर्ताका अनुसार ४० प्रतिशत नगद राख्दा अर्को ६० प्रतिशतसम्मको सेयर किन्न बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न थालेका छन् । कुनै कुनै वित्तीय संस्थाले त अझ ३० प्रतिशत मात्र नगद मार्जिन जम्मा गर्न लगाएर पनि धमाधम अधिविकर्षण प्रकृतिको सेयर कर्जा स्वीकृत गर्न थालेका छन् । विशेष गरी मनकामना विकास बैंक, सगरमाथा मर्चेन्ट फाइनान्स लिमिटेड, रिलायवल फाइनान्स, सिद्धार्थ बैंक, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसनजस्ता संस्थाले सेयर दलालको सिफारिसमा यस्ता कर्जा प्रदान गर्न थालेको लगानीकर्ता बताउँछन् ।
गत साता सिभिल बैंकको प्राथमिक सेयर निष्काशनमा व्यस्त लगानीकर्ता यस हप्ता भने पुन: सेयरको दोस्रो बजारमा नै फर्केको छ । आइतबार होटल उपसमूहबाहेक सबै उपसमूहको समूहगत परिसूचकमा समेत वृद्धि भएको छ । कारोबार पनि आइतबार १५ करोड ३२ लाख रुपियाँ पुगेको छ । ७८ कम्पनीको सेयर कारोबार हँुदा एक हजार चार सय ५१ कारोबारमा तीन लाख ६१ हजार दुई सय ८२ कित्ता सेयरको कारोबार भएको छ । बजार पुँजीकरण चार खर्ब ८२ अर्ब ७८ करोड रुपियाँ पुगेको छ ।
। आइतबार १२ कम्पनीको सेयर मूल्य मात्रै तल झरेको छ भने ५४ कम्पनीको सेयर मूल्य बढ्यो । प्रतिशतका आधारमा सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा त्रिवेणी विकास बैंकको प्रवद्र्धक सेयर, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक र ग्रान्ड बैंक रहेका छन् । कुमारी बैंक, जनता बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंकको सेयर मूल्य पनि करिब ५ प्रतिशतले बढे ।
सिभिलको आइपिओबाट लगानीकर्ता फर्किएकै कारण बजारमा आइतबार खरिदबिक्री बढेको एक सेयर दलालले बताए । गत साता औसतमा पाँच/सात करोड रुपियाँमा मात्र कारोबार हुन थालेको थियो ।

एच एन्डबीको कारोबार रोक्का

गुड फर पेमेन्ट चेक हिनामिना काण्डमा बैंंकको करोडाँै निक्षेप हिनामिना काण्डमा एचएन्डबी विकास बैंकका कुलेश्वर शाखा प्रमुख निरज नेपाल पक्राउ परेपछि नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको छ । सोधपुछ प्रयोजनको लागि रोक्का गरिएको सो सेयर कारोबार छानबिनपछि मात्र खुला गरिने भएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बैंकको तरलताको अवस्था राम्रै रहेकाले बैंकका निक्षेपकर्ता आत्तिनुपर्ने अवस्था भने नरहेको बताए । उनले बैंकको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेकाले सो घटना घटन गएको हुनसक्ने बताए । बैंकमा रकम हिनामिना भएको खबर सार्वजनिक भएपछि सो बैंकबाट करोडौँ रुपियाँ बाहिर गएको बैंक व्यवस्थापनले जानकारी दिए । हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्स मर्जर भएर एचएन्डबी डेभलपमेन्ट बैंक बनेको हो । हिमचुली विकास बैंकको सेयर कारोबार मर्जरको लागि भनेर यसअघि पनि पटक–पटक रोकिएको छ । वीरगन्जसँग मर्ज हुनुअगाडि पनि पाँचवटा वित्त कम्पनी मिलेर वाणिज्य बैंक बनाउने योजना सार्वजनिक हुँदा पनि लामो समय सेयर कारोबार रोकिएको थियो । पछिल्लो पटक नारायणी नेसनल फाइनान्ससँग पुन: मर्ज हुने हल्ला सार्वजनिक भएपछि केही दिनको लागि एचएन्डबी बैंकको सेयर कारोबार रोक्का गरिएको थियो ।

प्रतिक्रिया