‘सोमबार सम्म केही निकास आउँछ’

काठमाडौं, १ पुस । राष्ट्रपति डा.रामवरण यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबारसम्म मुलुकलाई निकास दिने सहमति भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा डा.यादव र अध्यक्ष दाहालबीच भोलि सोमबार सम्म राजनीतिक निकास दिने सहमति भएको हो । भेटमा दलहरुसँग भएका वार्ता र सम्वादका बारेमा समेत परामर्श भएको थियो ।
राष्ट्रपति डा.यादवसँगको भेट पछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष दाहालले मुलुक वर्तमान अवस्थामा अगाडि बढ्न नसक्ने बताए । उनले भने, ‘मुलुकलाई निकास दिन दलहरुका बीच अब केही न केही सहमति हुन्छ ।’
राष्ट्रपतिले सहमतीय सरकार बनाउँन दिएको समयसीमा भित्र मुलुकलाई राजनीतिक निकास दिने बताएका अध्यक्ष दाहालले भने, ‘सहमतिको प्रयास भईरहेको छ, सोमबार सम्म केही हुन्छ ।’
एमाओवादी अध्यक्ष दाहालले मुलुकलाई कस्तो प्रकारको निकास दिने हो, त्यो भने केही बताएनन् ।
राष्ट्रपतिले सहमतीय सरकार बनाउँन दिएको चौथो पटकको समयसीमा भोलि सोमबार सकिँदै छ ।
प्याकेजमा सहमति भए कांग्रेसलाई नेतृत्व दिन सकिने जनाउँदै आएको एमाओवादीले पछिल्लो सयम प्रधानमन्त्रीमा सुशील कोइरालालाई स्वीकार गर्न सक्ने संकेत देखाएको छ । कांग्रेसले पनि सरकारको नेतृत्व पाउने आशामा आन्तरिक राजनीतिक परामर्शमा जुटेको छ ।
यसैबीच, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले डा.यादवसँग भेट गरेका थिए । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको गच्छेदारले जानकारी दिए ।

प्रतिक्रिया