शब्दचित्रमा केवलपुरे किसान

मर्नु पर्दछ वीरले समरमा पारेर छाती खुला
पुर्नु पर्दछ देशका जति पनि चुसेर खाने दुला
राम्रो जोश लिएर होस सितको चड्के परे झैँ गर
भिक्षाले हक पाइँदैन बुझ है संघर्षको ठीक गर ।
यस किसिमका गीत–कविता रचेर विद्रोहको आगो सल्काउन उद्यत रहने, प्रगतिशील लेखक संघका संस्थापक कोषध्यक्ष, केवलपुरे किसानको जीवन अन्य नेपाली साहित्यकारको दाँजोमा नितान्त फरक छ । सामान्य किसान परिवारमा जन्मेका उनको जीवन सरल थियो, त्यस्तै उनको बोलीचाली र व्यवहार पनि थियो । तिनताकाको चलनअनुसार नै उनले संस्कृत पढ्ने अवसर पाए र पूर्वमध्यमासम्मको अध्ययन पनि गर्न भ्याए । सिद्धान्त र वादका ठुल्ठूला ठेलीसित पौँठेजोरी खोज्न उनी उद्यत देखिएनन् । त्यसकारण उनी आफू जति सरल थिए, त्यत्तिकै सरल कविता उनले लेखे । उनी मूलत: ग्रामीण नेपाली किसान समुदायका लागि लेख्ने प्रतिनिधि कवि हुन् । जनभाषा र जनलय नै उनका प्रमुख विशेषता हुन् । पद्यमयता, भाषिक सरलता र घोषित पक्षधरताको सन्दर्भमा हेर्ने हो भने उनी आफ्ना अग्रज कविहरू गोकुल जोशी र युद्धप्रसाद मिश्रका सिर्जनारसको परम्पराका धरोहर हुन् । यही आधारमा उनलाई मन नपराउने वा विरोध गर्नेहरूले कवि किसानलाई पनि ‘गँवार र चरम नारावादी कवि’ भनेर आलोचना गर्दै आइरहेका छन् । कवितामा निरपेक्ष सौन्दर्य देख्न चाहनेहरू उनका कविता शुष्क
खहरेजस्तो मात्र रहेको हठपूर्ण आग्रह राख्छन् । तर, उनले सगर्व घोषणा गरे :
बोल्न पाए निकै बोल्छु मकै पड्के जस्तो
लेख्नचाहिँ थोरै लेख्छु दालमा घिउ जस्तो ।
अब यस्तो परम्परा दोहोरिनु हुन्न
चुसाहाका स्तुति भा’का कविता म छुन्न ।
जनताको सरल बोलीमै रचना सिर्जना गर्ने हुँदा प्रेम र आदरपूर्वक जनकवि भनिन थालिएका केवलपुरे किसान भन्ने गर्थे, ‘घरेलु सामन्तवाद, साम्राज्यवाद, पुँजीवाद, यथास्थितिवाद, शोषण तथा थिचोमिचोविरुद्धमा जीवनको युवावस्थादेखि नै निरन्तर रूपमा कलम चलाइरहेका हुनाले मलाई प्रगतिशील साहित्यकार भनेको होलाझँै लाग्छ । म आजीवन जनताको पक्षमा कलम चलाएको व्यक्ति हुँ । सरल भाषामा जनताको भावना लेख्ने व्यक्ति भएकाले प्रगतिशील साहित्यकार शब्दले चिनिनु मेरा लागि सन्तोषको कुरा हो ।’
प्रगतिवाद र सामाजिक यथार्थवादी साहित्यका उनै एक अग्रज कवि केवलपुरे किसानको पहिलो वार्षिक स्म्ृति दिवसका अवसरमा उनको बृहत् स्मृतिग्रन्थ प्रकाशित भएको छ । स्वर्गीय किसानका छोरा र हाल हङकङवासी बनेका कमल पौडेलको सक्रियतामा हङकङमै स्थापित ‘केवलपुरे किसान पुस्तकालय’ ले प्रकाशन गरेको ७२८ पृष्ठ लामो किसान स्मृतिग्रन्थ नरनाथ लुइँटेल, डा. मुकेश चालिसे र मोहन दुवालले संयुक्त सम्पादन गरेका छन् । पुस्तकले कवि किसानलाई चौतर्फी रूपमा चिनाउन ठूलै परिश्रम गरेको स्मृतिग्रन्थ हेरेपछि नै थाहा हुन्छ ।
९, चैत १९८३ मा धादिङको केवलपुरमा जन्मेका देवीप्रसाद पौडेलले ‘केवलपुरे किसान’ को नाममा गीत र कविता लेखेका थिए । २१ असोज ०६८ मा देहावसान भएका उनका आधा दर्जनभन्दा बढी गीत–कविता संग्रह प्रकाशित छन् । उनको पहिलो कविता वैशाख २००५ मा प्रकाशित ‘आह्वान’ थियो भने अन्तिम चाहिँ ‘बूढाका कुरा’, जुन १५ असोज ०६८ मा छापिएको थियो । यसबीचमा उनका ‘शिक्षा–प्रचार’, ‘के को डर’, ‘जागरणप्रति’, ‘हाम्रो संयुक्त मोर्चा’, ‘यो के हो ?’ आदि कविताहरू निस्कँदै रहे । ००९ मा ‘बाघ आयो’, ०१० मा ‘नेपाल न छो †’, ०१२ मा ‘समातेर पछार’, ०१५ मा ‘छि † छि †’ र ०१६ मा ‘संघर्षको ठीक गर’ आदि गीत र कवितासंग्रह प्रकाशित भए । पछि एकैपटक ०४० को दशकमा ‘बोको खस्यो’ र ‘शंकै–शंका’ दुई कवितासंग्रह र ०५८ मा ‘आँसुको पोखरी’ नामक शोककाव्य प्रकाशित भएको देखिन्छ । स्मृतिग्रन्थमा जनकवि किसानका जीवन प्रसंग र व्यक्तित्व, उनको रचनाकारिता, किसानबारे अन्य र आफन्तका सम्झना–संस्मरण, कविताञ्जली, किसानका केही सिर्जना, शोक श्रद्धाञ्जली, केही अन्तर्वार्ता र अन्तिममा किसानसित सम्बन्धित सम्मान–पुरस्कारहरूको सूची र कालक्रमिक तस्बिरहरू समेटिएको छ ।
कवि केवलपुरे किसानबारे राम्ररी जान्न र बुझ्न चाहनेका लागि प्रस्तुत स्मृतिग्रन्थ उपयोगी मान्न सकिन्छ । सानो छँदै गोठाला गरेको, भागेर कान्तिपुर आई पाकशालामा भान्से  बनेर पढाइ अगाढि बढाएको, राणाविरोधी आन्दोलनमा लाग्दा झन्डै पक्राउ परेको, त्यसपछि बनारस भागेको, रेलमा पुस्तक बेच्दै जीविकोपार्ज गरेको, बनारसमै लक्ष्मीप्रसाद देवकोटा, श्यामप्रसाद शर्मा र गोकुल जोशीहरूसित भेटेको, धेरैपछि पुष्पलाल श्रेष्ठहरूलाई भेटेको, फेरि नेपाल फर्केर पुख्र्यौली थलो केवलपुर गएर हलो जोत्ने अभियानको थालनी गरेको, केही वर्ष मास्टरी गरेर बिताएको आदिसमेत केवलपुरे किसानका जीवनका तमाम उकालीओरालीसित धेरै हदसम्म परिचित हुन पनि यसले सघाउँछ ।  विशेषगरी श्यामप्रसाद शर्मा, कमलराज रेग्मी, कमल दीक्षित, भैरव रिसाल, कृष्णप्रसाद पराजुली, लक्ष्मीभक्त उपाध्याय, कृष्णसेन इच्छुक, जनकप्रसाद हुमागाइँ आदिसमेतका रचना समेटिएकाले स्मृतिग्रन्थको पठनीयता बढेकै मान्नु पर्छ ।
तापनि, एउटा प्रसंग भने नउठाइरहन सकिँदैन । जीवनभर निमुखा र गरीब–गुरुवाका लागि भनेर जनबोली र जनभाकामा गीतकविता लेखेका कवि किसानको स्मृतिग्रन्थको मूल्य किन एक हजार रुपियाँ ? हङकङका एक सफल होटल उद्यमीसमेतको छवि बनाएका छोराकै अगुवाइमा निस्केको कवि किसानको यति चर्को मूल्यको स्मृतिग्रन्थ कतिजना केवलपुरे किसानप्रेमी पाठकले किनेर पढ्न सक्लान् ?

प्रतिक्रिया