जागिर खाने थलो बन्यो प्रज्ञा प्रतिष्ठान

कृष्ण शाह यात्री नाटक क्षेत्रमा परिचित नाम हो । नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सदस्यसमेत रहेका उनी बालकथाकारका रूपमा पनि परिचित छन् । नाटकमा नयाँ–नयाँ प्रयोग गर्ने उनका ‘समयब अवसान,’ ‘मान्छे/मान्छेहरू,’ ‘निर्वासित मनहरू र अतिरिक्त,’ ‘यात्रा’ गरी चार नाटकसंग्रह, चारैवटा बालनाटकसंग्रह, १७ वटा  बालकथासंग्रह र ‘सूक्ष्म शिखाहरू,’ ‘आणविक अस्त्र’ र ‘तारो’ गरी तीन लघुकथासंग्रह प्रकाशित छन् ।
तपाईंको नाटक, बालकथामा नितान्त निजी कुरा बढी हुन्छ भनिन्छ । त्यो पढेर पाठकलाई के लाभ होला र ?
मेरा अधिकांश नाटकहरू प्रगोगधर्मी, स्वैरकाल्पनिक एवं नवीन शैलीमा लेखिएका छन् । नेपाली नाटक लेखनको पछिल्लो कालखण्डमा ती नाटकहरूले भिन्न महत्त्व र अर्थ राखेको कुरा डा. मोहनहिमांशु थापा, डा. केशवप्रसाद उपाध्यायजस्ता विद्वान नाटयसमालोचकले समेत धेरै ठाउँमा उल्लेख गरेका छन् । पाठकले मेरा नाटकबाट परम्परागतभन्दा फरक आस्वादन पाउनेछन् । रह्यो बालसाहित्यका कुरा, मेरा धेरैजसो बालकथा र बालनाटकहरू बालबालिकाहरूको समस्या र अभिरुचीमाथि केन्द्रित छन् । यसले उनीहरूको व्यक्तित्व विकासमा समेत सघाउ पुर्‍याएको छ । नितान्त निजी कुराहरू बढी हुन्छ भन्ने कुरा पहिलोपटक सुन्दै छु ।
तपाईंको नाटकहरू वास्तविकता हुन् कि जीवन यस्तो भइदिए हुन्थ्यो भन्ने कल्पना हो ?
नाटकहरूको आधारभूमी यथार्थ नै रोज्छु । त्यसमा कहिलेकाहीँ मिथकीय र स्वैरकल्पनाको रङ मिसाउने गर्छु । नाटकले जीवनकै अभिनय गरिरहेको हुन्छ । विगत र आगतभन्दा अनागतसम्बन्धी लेखिएका नाटकहरूप्रति त्यो अपेक्षा रहन्छ ।
लेखाइमा अभिव्यक्त गरिने सबै कुरामा काव्यात्मक सहभागितालाई कति स्वीकार गर्नुहुन्छ ?
काव्यात्मक सहभागीताले रचनालाई सुन्दर बनाउँछ । तर, कहिलेकाहीँ क्लिष्ट र बोझिला शब्दहरूको भारीले रचनालाई कुरूप पनि बनाएको देखेको छु । विम्बको खोजीभन्दा त्यसको सही तरिकाले प्रयोग गर्नसक्नु खुबीको कुरा हो । वजनदार बनाउने क्रममा धेरै राम्रा विषयहरू दुर्घटना भएका उदाहरणहरू हामीमाझ प्रशस्त छन् ।
कसका लागि लेख्नुहुन्छ ?
पहिला आफ्नै लागि लेख्थेँ । रुची र नामका लागि । अहिले पाठक र समाजका निम्ति लेख्छु ।
कथाका पात्रहरूलाई बोधगम्य बनाउन कत्तिको जरुरी ठान्नुहुन्छ ?
बोधगम्य पात्रहरू नै पाठकहरूको मष्तिष्कमा धेरैसमयसम्म जीवित रहन्छ । अचेल पाठकहरूले सरल र सहज आख्यानलाई बढी रुचाएका पनि छन् ।
अधिकांश नाटकमा लेखकले घटना मात्र प्रस्तुत गर्छन् । कतिपयचाहिँ घटनाबाट टाढा भएर सिद्धान्त मात्र फलाक्छन् । साहित्यमा सिद्धान्त र आख्यानको सन्तुलन कसरी तय गर्ने ?
नेपाली साहित्यको यो पहिलेदेखि कै समस्या हो । सिद्धान्त बुझ्नु आवश्यक छ । तर, सिर्जना गर्दा सिद्धान्तको पछि दगुर्नु भने ठीक होइन । सोचाइ र लेखाइको दायरा खुम्च्याउनु हुँदैन । नाटक श्रब्य र दृश्य विधा हो । घटना नाटकको मेरुदण्ड हो । तैपनि, नाटकलाई राम्रो बनाउन शैली, संवाद र चरित्र प्रस्तुतिमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । समग्रमा भन्नुपर्दा सिद्धान्तले आख्यानलाई होइन, आख्यानले सिद्धान्तलाई डोर्‍याउनु पर्छ ।
तपाईंहरूभन्दा ‘ठूला’ भनाउँदा लेखकहरूले तपाईंहरूजस्तो सामथ्र्य भएका नयाँ लेखकलाई उठ्न दिएनन् भन्ने आरोप छ नि ?
यस्ता आरोप मैले पनि सुन्ने गरेको छु । तर, मैले भोग्नु परेन । नाटककारहरू विजय मल्ल, गोविन्द गोठाले वा रमेश विकलहरूसँग उहाँहरू जीवत छँदा जति संगत गरेँ, सधैँ सौहार्दपूर्ण सम्बन्ध रह्यो । सरुभक्त, अशेष मल्लहरूसँग अहिले पनि भेट हुँदा एकअर्काका नाटकमाथी खुलेर कुरा गर्छौं । सामथ्र्य भएकाहरूलाई कसैले सधैँ निषेध वा अस्वीकार गर्न सक्दैन । स्रष्टाको सिर्जना बलियो छ भने आयु लामो छ भने कसैले माथी उठ्न रोक्न सक्दैन । तर, आफूमा आत्मविश्वास पनि दह्रो हुनुपर्छ ।
यहाँ कस्तो साहित्य लेखियो भन्दा पनि कसले लेख्यो भन्नेमा बढी चासो राखिन्छ । यस्तो किन हुन्छ ?
हामीकहाँ अझै पनि लेखिएको कुरा सबै ठाउँका पाठकसामु सहज रूपमा पुग्न सकिरहेको छैन । जसले गर्दा स्रष्टा र पाठकबीच एक किसिमको दूरी छ । कस्तो लेखियो भन्दा पनि कसले लेख्यो भन्ने कुरामा चासो बढ्नुमा मिडियाको पनि ठूलो भूमिका छ । हामीकहाँ चर्चा हुनुपर्ने धेरै राम्रा कृतिहरू अmझै ओझेलमा छन् ।
लेखक बजारअनुसार चल्नुपर्छ कि आपैँm बजार क्रिएट गर्नुपर्छ ?
लेखक बजारअनुसार चल्नु पर्छ भन्ने जरुरी छैन । बजारमा माग छ भन्दैमा सस्तो लोकप्रियता र कमाइको पछि लाग्नु हुँदैन । यस्ता कुराको आयु पनि लामो हुँदैन । कृति प्रकाशनपछिको वितरण, प्रचार र बिक्रीको कुरा गर्नुभएको हो भने समयअनुसार चल्नै पर्ने हुन्छ । लेखकले बजार आपैँm क्रिएट गर्नुपर्छ । यो भनेको उसको आफ्नो मौलिकता चिनारी हो । आफ्नोपन र शैली हो । जसलाई अरूले नक्कल गर्न त सक्लान् तर मार्केट खोस्न सक्दैन ।
आफ्ना नाटक र बालकथाहरूको लामो आयुप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
एकदमै विश्वस्त पनि छु । म लेखनमा धेरै वा थोरै भन्ने कुरामा विश्वास गर्दिन । जुनै विधा भए पनि के र कस्तो लेख्दै छु भन्ने कुरामा सधैँ सचेत हुन्छु । मेरा दुई दशकअघि लेखिएका सिर्जनाहरू अहिलेका पाठकहरूले पनि उत्तिक्कै रुचाएका छन् । पुन:मुद्रण भइरहेका छन् ।
तपाईं आपैँm प्राज्ञ सदस्य हुनुहुन्छ । संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छैन । यसमा अझै पनि भिजन भएका मानिसहरू अटाउन सकेका छैनन् । व्यक्तिगत स्वार्थ र सुविधाको पछि लाग्ने, आफ्नो जिम्मेवारी र दायित्व नबुझ्ने प्रवृत्तिले गर्दा प्रज्ञा प्रतिष्ठान जुन उद्देश्यका लागि गठन भएको हो त्यसअनुरूप चल्न सकेको छैन । यसलाई जागिर खाने थलो मात्र बनाउनु हुँदैन । प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय नाटक महोत्सव’ आयोजना नगरेको ६ वर्ष भयो । निजीस्तरबाट भने अन्तर्राष्ट्रिय नाटक महोत्सव भइरहेका छन् । खोजमूलक एउटै पनि पुस्तक निस्किरहेको छैन । कसले कुन विषयमा अध्ययन र अनुसन्धान गर्दै छ भन्ने कुराको प्राज्ञहरूबीच छलफल हुँदैन । केही प्राज्ञ साथीले यी कुरामा आवाज उठाउँदै पनि आइरहेका छन् तर कुरै बुझ्दैनन् । वास्तवमा प्रतिष्ठान प्राज्ञहरूको जागिर खाने ठाउँ बन्नु नै दुर्भाग्यपूर्ण कुरा हो । यसको संरचना समयअनुकूल छैन । मैले त प्रज्ञा प्रतिष्ठानबाट पाउने कुनै पनि भत्ता वा सुविधा नलिने घोषणै गरेको छु । समग्रमा राम्रो काम गरौँ भन्ने उद्देश्य हो तर त्यसो हुन सकिरहेको छैन । तीनवटै एकेडेमीको अवस्था लगभग उस्तै छ ।
तपाईं बढी नाटककार कि बालकथाकार ?
मेरो मूल विधा नाटक नै हो । मलाई नाटककार कै रूपमा धेरैले चिन्छन् । लघुकथा र बालकथामा पनि लेख्न थालेको दुई दशक नै भइसक्यो । यी विधालाई पनि केही समय दिनु मेरो कर्तव्य हो जस्तो लाग्छ ।
तपाईं आपैँmले हेर्दा आफ्ना नाटक, कथाको स्तर कहाँ छ ?
मैले अझै धेरै कुरा सिक्न र लेख्न बाँकी नै छ । अहिलेसम्मको लेखनयात्रालाई हेर्दा भने म आफूलाई अरूले नछोएको विषय र नअँगालेको प्रयोग गर्न सधैँ अग्रसर भएको पाउँछु ।
नाटक लेख्न सजिलो कि मञ्चन गर्न ?
नाटक लेख्नु र मञ्चन गर्नु दुवै सजिलो छैन । तर, सामूहिक कार्य भएकाले लेख्नुभन्दा मञ्चन गर्नु
गाह्रो छ ।
तपाईंको नाटक ‘पीडा आरोहण’ यसै वर्षदेखि त्रिभुवन विश्वविद्यालयले बिएड र बिए प्रथम वर्षको अनिवार्य नेपालीको पाठयक्रममा समावेश गरेको छ । कस्तो लागिरहेको छ ?
यो नाटक मेरो ‘अतिरिक्त यात्रा’ नाटकसंग्रहभित्र छ । यसअघि ०६३ सालदेखि तेस्रो वर्षको ऐच्छिक नेपालीमा ‘निर्वासित मनहरू’ नाटक अध्यापन हुँदै आएको छ । विश्वविद्यालयले पाठयक्रमलाई समयसापेक्ष र फराकिलो बनाउँदै लगेकोमा खुसी लागेको छ । नाटकप्रति मेरो जिम्मेवारी झनै बढेको महसुस भइरहेको छ ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया