‘सबैका लागि सामाजिक सुरक्षा आवश्यक’

काठमाडौं, २९ मंसिर । नागरिकको बृहत्तर हितका लागि सबैका लागि उपयुक्त सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाउनु पर्ने सुझाव विज्ञहरूले दिएका छन् । नेपाल श्रम पत्रकार संघले बिहीबार राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनीहरूले सामाजिक सुरक्षा कार्यक्रम औपचारिक क्षेत्रमा मात्र नभएर अनौपचारिक र वैदेशिक रोजगार क्षेत्रलाई पनि समेट्नु पर्ने सुझाव दिए ।
‘सबैलाई सामाजिक सुरक्षा पुर्‍याउने उद्देश्यले सामाजिक सुरक्षा कोष स्थापना भएको छ तर अहिलेसम्म औपचारिक क्षेत्रलाई समेत समेट्न सकिएको छैन,’ सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक केवलप्रसाद भण्डारीले भने, ‘हामीले सहभागितात्मक सामाजिक सुरक्षा अगाडि बढाउन चाहेको छाँै, तर कानुनी र प्राविधिक समस्याका कारण यो अगाडि बढ्न सकेको छैन ।’ भण्डारीका अनुसार कोषमा योगदान गर्ने व्यक्तिको पहिचानको समस्या रहेकाले काम अगाडि बढ्न सकेको छैन । ‘सबैले आफ्नो किसिमले परिचय पत्र बाँडिरहेका छन्, कसको आधारमा हामी काम गर्ने,’ उनले प्रश्न गरे । गरिबी निवारण कोष र स्वास्थ्य मन्त्रालयले क्रमश: गरिबको पहिचान र स्वास्थ्य बिमाका लागि परिचयपत्र बाँडिरहेका छन् । गृह मन्त्रालयले नागरिताको विकल्पमा इलेक्ट्रोनिक कार्ड बाँड्ने योजना बनाएको जनाएको छ ।
यसैगरी नगद हस्तान्तरण नगरी सेवा दिने मोडलमा कोषले काम गर्न चहेको पनि उनले बताए । उनका अनुसार दुर्घटना, औषधोपचार तथा पेन्सन नगद नभई सेवा वा बैंकमार्फत भुक्तानी गरे मात्र सम्भावित ठगी नियन्त्रण गर्न सकिन्छ । नभए एउटा व्यक्तिको नक्कली परिचयपत्र बनाएर ठग्ने प्रवृत्ति रोक्न नसक्ने उनले बताए ।
राष्ट्रिय श्रम प्रतिष्ठानका श्रमविज्ञ डा. शिव शर्माले कृषि र निर्माण क्षेत्रमा सामाजिक सुरक्षा तत्काल आवश्यक भएको धारणा राखे । ‘कृषि र निर्माण क्षेत्रका मजदुर बढी जोखिममा छन्, उनीहरूका लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याउनु आवश्यक भइसकेको छ’, उनले भने,  ‘नक्सा पास गर्दा र मालपोत लिँदा केही बढी रकम लिएर सरकारले यस्तो सेवा दिनसक्ने छ ।’
यस्तै, वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले देशमा रोजगार नभएको कारण विदेश पलायन भएका युवा शक्तिको भविष्य सुनिश्चित गर्न वैदेशिक रोजगारमा समेत सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाउनु आवश्यक रहेको उनको भनाइ थियो । ‘विदेशमा काम गर्ने नेपालीको श्रमअवधि कम छ, तिनका लागि विशेष प्रकारको योजना आवश्यक पर्छ’, उनले भने ।
कार्यक्रममा युएन वमनकी कार्यक्रम व्यवस्थापक सरू जोशी, अन्तर्राष्ट्रिय श्रम संगठनका अधिकृत नवीनकुमार कर्ण, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी निमित्त कार्यकारी निर्देशक गिरिजा शर्मा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले नेपालमा सबै क्षेत्र
समेट्ने सामाजिक सुरक्षा कार्यक्रम आवश्यक भएको धारणा राखे ।

प्रतिक्रिया