‘बैंकिङ क्षेत्रमा खासै समस्या छैन’

 
काठमाडैां : नेपाल बैंकर्स एसोसिएसनका नवनियुक्त अध्यक्ष राजनसिंह भण्डारीले वाणिज्य बैंकहरूको पँुजी आधार बलियो भएकाले सानोतिनो झट्काले बैंकलाई केही असर नपर्ने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले भण्डारी अध्यक्ष भएकामा बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले सानोतिनो सहकारीजस्तो वाणिज्य बैंक तुरुन्त निक्षेप तिरी हाल्न नसक्ने स्थितिमा नआउने उनले बताए ।
घरजग्गा क्षेत्रमा गएको ऋण विस्तारै असुलउपर हुन थालेको बताउँदै उनले राष्ट्र बैंकले व्यक्तिगत घरकर्जा सीमा एक करोडसम्म पुर्‍याएकाले बैंकलाई झनै सहज भएको बताए । घरजग्गा क्षेत्रमा गएको ऋण कुल कर्जाको १० प्रतिशतभन्दा पनि तल पुगिसकेकाले दीर्घकालमा यसले बैंकलाई कुनै असर नपार्ने दाबी गर्दै छोटो समयका लागि भने केही असर गर्ने बताए । एसोसिएसनसँग छलफल गरेर नै राष्ट्र बैंकले कर्जाको बेस रेट निर्धारण गर्ने प्रक्रिया सार्वजनिक गरेकाले त्यसमा बैंकरहरूको आपत्ति नरहेको उनले बताए । कर्जाको ब्याजदर निर्धारण प्रक्रिया थप पारदर्शी हुने हँुदा आधारदर लागू भएपछि वाणिज्य बैंकको विश्वसनीयता अझ अभिवृद्धि हुनेमा उनले जोड दिए ।
नेपालको आर्थिक वृद्धिदर नै ४ प्रतिशतको हाराहारीमा मात्र रहेकाले बैंकको मात्र नाफा एकोहोरो बढिरहन नसक्ने उनले बताए । लगानीको उचित वातावरण नरहेका कारण अहिले सिमेन्ट र जलविद्युत् क्षेत्रमा मात्रै केही कर्जा बढिरहेको उनले बताए । (सौस)

प्रतिक्रिया