के २१ डिसेम्बरमा पृथ्वी साँच्चै ध्वस्त हुन्छ ?

यो वाहियात हल्ला हो । हरेक कालखण्डमा केही सनसनी मच्चाउने खालका हल्ला फैलाएर मजा लिने व्यक्तिहरू हुन्छन् । ५१ वर्षजति अघि वि.सं. ०१८ सालतिर पनि यस्तै हल्ला मच्चिएको थियो तर केही भएन । यस्ता हल्लाले एकाध व्यक्तिलाई चर्चाको शिखरमा पुर्‍याउँछ दुई चार दिनका लागि । सबैको मुखबाट फलानोले भनेको यसरी पृथ्वी नष्ट हुन्छ, ध्वस्त हुन्छ भन्ने त्रास सुन्न पाइन्छ । चर्चा फैलाउने मानिस आपैँmलाई थाहा छ कि पृथ्वी हल्लाकै भरमा नष्ट हुन्न भनेर । संसारभरका मानिस मूर्ख बनेको देखेर उसले आनन्द लिन्छ ।
उसले सेयर गरेको लिंक लाखौँले पढ्छन्, त्यसबाट पनि उसलाई फाइदै छ । हल्लाको पछि लाग्नेलाई टेन्सनै टेन्सन् । मलाई त अचम्म लाग्छ मानिसहरू विनाआधार हल्लालाई किन विस्वास गर्छन् ? आजको जमानामा विज्ञानले १०० मात्रै होइन हजार वर्ष पछि पनि सेकेन्ड–सेकेन्डमा के हुन्छ भनेर छर्लंग देखाइसकेको छ । कहिँ कतै पृथ्वी एक्कासी ध्वस्त हुने कारण र संभावना देखिएको छैन ।
ठूलो भूकम्प आउँछ भन्ने जस्तो आधारहीन हल्लाको पछि नलाग्दा हुन्छ । भूकम्पको भविष्यवाणी गर्न सकिन्न भन्ने त सबैलाई थाहै छ त । अनि, किन हल्ला सुनेर डराउन पर्‍यो ? ग्रहहरू, आकाशीय पिण्डहरू, सूर्य, चन्द्र, तारा सबैको आ–आफ्नो चक्र र नियम छ । पृथ्वी चलाउने रिमोट कुनै व्यक्तिको हातमा छैन । २१ डिसेम्बर २०१२ पछिको मिति नभएको क्यालेन्डर देख्नेले एक सय वर्षपछि सम्मको क्यालेन्डर किन देख्या छैनन् खै ? क्यालेन्डर त १०० वर्ष पछिको पनि त बनिसकेको छ ।
पृथ्वी ब्रेक फेल भएको गाडी होइन जो बाटो छोडेर उछिट्टियोस् । यसको आफ्नो नियम र चक्र छ त्यसैमा निरन्तर रहिरहन्छ । प्राकृतिक र भौतिक दुवै कारणले पृथ्वी ‘तथास्तु’ भनेर वरदान दिएजस्तो वा श्राप दिएजस्तो उत्पत्ति र नष्ट हुने होइन । आधारै नभएको कुराको पछाडि लागेर टाउको नदुखाए हुन्छ । २१ डिसेम्बर पछि २२ डिसेम्बर आउँछ, अरू केही हुन्न । चिन्ता नलिए हुन्छ ।

प्रतिक्रिया