हेटौंडा सिमेन्टले धुलो नियन्त्रण गर्ने

हेटौंडा : सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग फागुन दोस्रो साताभित्र धुलो नियन्त्रण गर्न सहमत भएको छ ।
पदमपोखरी गाविसस्थित प्रदूषण नियन्त्रण संघर्ष समितिसँग व्यवस्थापनले २८ पुससम्म उद्योग चालु स्थितिमै सञ्चालन गर्ने र १५ फागुनभित्र धुलो नियन्त्रण गर्ने सहमति जनाएको हो । पटक/पटक सहमति पालना नगरेको हेटांैडा सिमेन्टले २८ पुसपछि भने उद्योग सञ्चालन नगर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी संघर्ष समितिका संयोजक रामजी नेपालले उद्योगमा जडान भइरहेको धुलो नियन्त्रण मेसिनको प्रयोगका लागि केही समय मात्रै उद्योग चलाउने सहमति भएको जानकारी दिए ।
धुलो नियन्त्रण गर्न २० मंसिरमा ज्ञापनपत्र बुझाएको संघर्ष समितिले समस्या हल नगरे उद्योग बन्द गर्ने चेतावनी दिएको थियो । चेतावनीपछि महाप्रबन्धक रमेशकुमार अर्यालसहितको उद्योग व्यवस्थापन र ट्रेड युनियनको टोली वार्ताका लागि बुधबार पदमपोखरी गएका थियो । वार्तामा महाप्रबन्धक अर्याल, नायब महाप्रबन्धकद्वय सरोज श्रीवास्तव तथा उद्योगका तीनवटै ट्रेड युनियन प्रतिनिधि सहभागी थिए ।
उद्योगको धुलो नियन्त्रण प्लान्ट बिग्रिएर पीडित बनेका पदमपोखरीवासीले ०५७ देखि धुलो नियन्त्रणका लागि संघर्ष गर्दै आएका थिए । ०६४ मा उद्योगले १२ बँुदे सहमति गरे पनि पालना नगरेको समितिका संयोजक नेपालले बताए । हेटौंडा–९ मा रहेको उद्योगका कारण नगरपालिकाका ८ र ९ नम्बर वडा तथा पदमपोखरी र चुरियामाई गाविसवासी प्रभावित छन् । (सौस)

प्रतिक्रिया