चामलको बोराले थिचेर २ वालकको मृत्यु

रुकुम, २८ मसिर । रुकुम जिल्लामा आफ्नै किराना पसलमा रहेको चामलका बोराले पुरिएर एकै घरका २ वालकको मृत्यु भएको छ ।
सदरमुकाम खलंगास्थित जयवहादुर वादीका छोराहरु १० वर्षीय मनीष वादी र ७ वर्षीय आकाश वादीको चामल भरिएका बोराले पुरिएर आज विहान मृत्यु भएको हो ।
बोराले थिचेर गम्भीर घाईते मनीष र आकाशलाई जिल्ला अस्पताल सल्ले खलंगा लैजाँदै गर्दा वाटोमै मृत्यु भएको आफन्तले जनाए ।
बोराले थिचिएका दुवै बालक जन्मदै शरीरको तल्लो भाग नचल्ने अवस्थामा थिए । काठ र जस्ता पाताले निर्माण भएको घुम्तीमा वादी परिवारले विगत २ वर्षदेखि किराना पसल गर्दै आएका छन् ।
आमा मञ्जु वादी भान्साको काममा लागेकी थिइन भने, बाबु जयवहादुर पसलको लागि आवश्यक पर्ने सागपात, फलफूल लिन बाहिर निस्केको अवस्थामा बालकहरु थिचिएका हुन् । दुवै छोराको मृत्यु भए पछि आमा मञ्जु अचेत अवस्थामा रहेकी छन् ।
वादी परिवारका ४ सन्तान जन्मजात हात खुट्टा बाँगिएको अपांग अवस्थामा जन्मीएका थिए ।

प्रतिक्रिया