गोर्खा बैंकको व्यवस्थापन लिँदै राष्ट्र बैंक

काठमाडौं, २७ मंसिर । समस्याग्रस्त घोषणा गरिएको गोरखा विकास बैंकको व्यवस्थापनको जिम्मा लिने तयारीमा नेपाल राष्ट्र बैंक पुगेको छ । बैंकको वित्तीय स्वास्थ्य सुधार गर्ने विषयमा सञ्चालकलाई सोधिएको १५ दिने स्पष्टीकरणको उचित जवाफ नआएपछि राष्ट्र बैंक व्यवस्थापन लिने तयारीमा जुटेको हो ।
वित्तीय अवस्था सुधार्न निर्देशन दिँदै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि अवस्था झन् बिग्रिएर गएको थियो । समस्याग्रस्त घोषणा भएपछि बैंकले नयाँ निक्षेप संकलन गर्न नपाउने तर भएको निक्षेप क्रमश: फिर्ता गर्नुपर्ने र खराब कर्जा उठाउँदै लानुपर्ने अवस्था थियो । बढ्दो खराब ऋण कर घट्दो पुँजी कोष अनुपातलाई सुधार्न ११ चैत ०६७ चैतमा समस्याग्रस्त घोषणा गरेको थियो ।
नेपाल राष्ट्र बैंक उच्चस्रोतका अनुसार अब बस्ने राष्ट्र बैंक सञ्चालक समिति बैठकमा गोर्खा विकास बैंक व्यवस्थापन जिम्मा लिने प्रस्ताव पारित लगेर पारित गरिनेछ । राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिएपछि  गोर्खालाई बिक्री गर्ने वा नयाँ लगानीकर्ता खोजेर सञ्चालन गर्ने दुवै पहल गर्नेछ । उसले स्वदेशी तथा विदेशी समूहलाई सेयर बिक्री गर्ने योजनासमेत बनाएको छ । गोर्खाको व्यवस्थापनमा राष्ट्र बैंक उपनिर्देशकको नेतृत्वमा थप दुई जनासमेत सहभागी हुनेछन् ।
संकटग्रस्त घोषणा हँुदा पँुजी कोष २ प्रतिशत र खराब कर्जा साढे १७ प्रतिशत थियो । अहिले पुँजी कोष नकारात्मक भएर खराब कर्जा २५ प्रतिशत नाघेको छ । बैंकले अहिलेसम्म असल ऋण मात्र उठाएको छ । नियमित आम्दानी हुने ऋण उठिसकेकाले बैंकको आम्दानी घटेको एवं  खराब ऋण नउठेकाले बैंकको पुँजी कोष सुधार हुनको साटो झन् बिग्रेको बताइएको छ ।
राष्ट्र बैंकले गोर्खा बैंकलाई ६ महिनाभित्र खराब कर्जा ५ प्रतिशत मुनि झार्न निर्देशन दिए पनि सफल हुन सकेको थिएन । गोर्खा बैंकको अहिले पनि खराब कर्जा एक अर्बभन्दा बढी उठ्न बाँकी छ । समस्याग्रस्त घोषणा हँुदा बैंकको खराब कर्जा करिब एक अर्ब ३० करोड रुपियाँ थियो जुन प्राय: ठूला घरजग्गा व्यवसायीसँग सम्बन्धित छ । बैंकको कुल खराब कर्जा तत्कालीन समयमा डेढ अर्ब रुपियाँ थियो ।
बैंकलाई गत जेठ मसान्तसम्म पुँजी योजनासहित प्रस्तुत हुन राष्ट्र बैंकले समयसीमा तोकेपछि बैंकमा २२ प्रतिशत सेयर हिस्सा रहेको कृषि प्रिमुराका अध्यक्ष राकेश अडुकियालाई अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारिएको थियो । अडुकियाले रणनीतिक साझेदार भित्र्याउने अथवा हकप्रद सेयर निकालेर बैंकको पँुजी वृद्धि गर्ने योजनासमेत बनेको थियो । तर, अधिकांश अन्य ठूला बैंकका सेयरधनीले अडुकियालाई अस्वीकार गरेपछि यो योजना त्यत्तिकै तुहिएको हो । अहिलेको अवस्थामा राष्ट्र बैंकले तोकेको मापदण्डमा ल्याउन बैंकमा एक अर्ब रुपियाँको जरुरत पर्दछ । बैंकका पूर्वअध्यक्ष डिबी बमजन थुनामा रहेका छन् भने अन्य दुई प्रवद्र्धक धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया